
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीयतहको निर्वाचनको मतगणना शुक्रबार बेलुकादेखि नै सुरु भइसकेको छ । मनाङ लगायतका केही जिल्लाका केही पालिकाहरुमा मतगणना सम्पन्न भइ विजयी सुरुवात समेत भइसकेको छ ।
सबैको चर्चामा रहेको काठमाडौं महानगरपालिकाको मतगणना आज बिहान ८ बजेदेखि गरिने भएको छ ।
मतगणनाको निर्णय गर्न शुक्रबार बेलुका बसेको सर्वदलीय बैठकले आज बिहानदेखि मतगणना सुरुगर्ने निर्णय गरेको हो ।
काठमाडौं महानगरका सबै मतपेटिकाहरु राष्ट्रियसभागृहमा संकलन गरे लगत्तै बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । उक्त निर्णय हनुसार मतगणना स्थलमा दलहरुका एक÷एकजना प्रतिनिधि बस्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका तर्फबाट पाँचजना रहने छन् ।
काठमाडौंमा कूल ३ लाख २४२ मतदाता रहेका छन् भने ५२ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान रहेको छ ।
काठमाडौंमा मेयरका उम्मेदवार स्वतन्त्र उम्मेदवार बनेका बालेन साहको धेरै चर्चा रहेको छ भने गठबन्धनका तर्फबाट मेयरमा सिर्जना सिंह, एमालेबाट केशव स्थापित र उपमेयरमा गठबन्धनका तर्फबाट एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठ र एमालेबाट सुनिता डंगोलचुनावी मैदानमा उत्रिएका थिए ।
त्यसैगरी ललितपुर महानगरपालिकामा पनि आज बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय गरिएको छ । उम्मेदवार र कर्मचारी सबै थाकेकाले शनिबार मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले बताएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ । महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन् ।