
काठमाडाैं । निर्वाचन आयोगले ८० प्रतिशत स्थानको मतगणना सम्पन्न भइसकेको जनाएकाे छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको जनाए । उनका अनुसार १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको छ ।
प्रवक्ता पाैडेलका अनुसार हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भइसकेका छन् ।
जसमा हालसम्म प्रमुखमा १ सय ७४ जना, उपप्रमुखमा १ सय ७४, अध्यक्षमा ३ सय ९६, उपाध्यक्षमा ३ सय ९६ वडाध्यक्षमा ५ हजार ६ सय ५९ महिला सदस्य ५ हजार ६ सय ५३ दलित महिला सदस्य ५ हजार ६ सय ५६ जना र वडा सदस्य १ हजार २ सय ९५ जना निर्वाचित भएका छन् ।
‘हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका छन्,’ प्रवक्ता पौडेलले भने, ‘३५ हजार २२१ कुल पदाधिकारी निर्वाचित हुनुपर्नेमा करिब ८० प्रतिशतको परिणाम आइसकेको छ ।’
बैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको उनले जानकारी दिए। यस्तै, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनले बताए।
५ जेठभित्रमा मतगणना सम्पन्न गर्न आयोगले यसअघि नै निर्देशन दिएको थियो । तर, मतगणना नसकिएका स्थानमा बढीभन्दा बढी जनशक्ति परिचालन गरेर मतगणना गर्न आयोगले निर्देशन पनि दिएको छ ।