काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा देखिएको थियो । मधेशका ८ जिल्लामध्ये सिराहा र महोत्तरीमा बलियो प्रभाव देखाएको माओवादी केन्द्र सबै स्थानीय तहमा प्रतिस्पर्धीको रुपमा उभिएको थियो ।
१३६ स्थानीय तह भएको मधेशमा तत्कालिन समय माओवादीले २१ पालिका जितेको थियो । तत्कालिन समय कांग्रेस पहिलो पार्टी बन्द माओवावादी चौथौ पार्टीको रुपमा देखिएको थियो ।
तर, दोस्रो कार्यकालका लागि निर्वाचन हुँदा मधेशमा माओवादी निकै कमजोर पार्टीको रुपमा देखिएको छ । यसअघि ६ पालिका जित्दै पहिलो पार्टी बनेको सिराहामा माओवादी १ पालिकामा सिमित हुँदै चौथोमा झरेको छ भने ४ पालिका जित्दै दोस्रो पार्टी बनेको महोत्तरीमा यसपटक माओवादी शुन्यमा झरेको छ ।
अहिले समग्र मधेशमा १२ पालिका गुमाउँदै माओवादी केन्द्र निकै कमजोर पार्टीको रुपमा देखिएको छ । माओवादी केन्द्रले जितेका ९ पालिकामा पनि मतान्तर निकै कम देखिन्छ । अहिलेको नतिजाले माओवादी केन्द्र मधेशमा क्रमशः बढारिँदै गएको त होइन भन्ने प्रश्न उब्जाएको छ ।
आन्तरिक विवाद मुख्य फ्याक्टर
माओवादी केन्द्रभित्र मधेशमा निकै विवाद देखिन्छ । मुख्य गरी नेताहरु मातृका यादव र गिरीराजमणि पोखरेल पक्षबीच बलियो टकराव छ । निर्वाचनकै बेला भएका शक्ति प्रदर्शनमा समेत दुई पक्षबीचको टकराव बाहिर देखिएका थिए । निर्वाचन केन्द्रीत कतिपय आमसभामा कहिले यादव पक्षले बहिष्कार त कहिले पोखरेल पक्षको बहिष्कार हुने गरेका थिए ।
माओवादी मधेश इन्चार्ज गणेश साह पार्टीभित्रको अन्तरद्धन्द्धकै कारण मधेशमा पराजय भोग्नुपरेको स्वीकार गर्दछन् । विवाद समाधान नभई मधेशमा माओवादी अगाडि बढ्ने अवस्थामा नभएको उनको भनाइ छ ।
“निर्वाचनको बेला मतदाता केन्द्रीत कार्यक्रममा व्यस्त हुनुपर्नेमा हाम्रो समय पार्टीभित्रकै आन्तरिक विवाद समाधान गर्न केन्द्रीत भयो, धेरै ठाउँमा उम्मेदवार चयनकै विषयमा आन्तरिक विवाद बन्यो”, इन्चार्ज शाह भन्छन्, “हाम्रा उम्मेदवार हारेको मुख्य कारण हामीभित्रकै विवाद हो । यो विवाद समाधान नभइ माओवादी मधेशमा अगाडि बढ्न सक्दैन ।”
साह जिम्मेवारीबाट बाहिरिने सोंचमा
पार्टीभित्र विवाद बढिरहेकै बेला माओवादी केन्द्रले गणेश साहलाई मधेश इन्चार्जको जिम्मेवारी दिएको थियो । तर, विवाद समाधान उन्मुख नबनेसँगै साह निकै निराश देखिएका छन् । उनले आफु मधेशको जिम्मेवारीबाट बाहिरिन चाहेको पनि बताए ।
“अध्यक्ष ज्यूले मध्यमार्गी भनेर मलाई जिम्मेवारी दिनुभयो तर, मधेशको अवस्था मैंले लिड गर्ने खालको छैन”, साहले भनेका छन्, “विवाद समाधान नगराई मधेशमा माओवादी अघि बढ्न सक्दैन ।”
पार्टीभित्रको आन्तरिक विवाद हल गर्ने ल्याकत आफुसँग नभएको पनि उनले बताए । “अहिले जे विवाद छ सबै नेतृत्व पंक्तिलाई थाहा भएकै विषय हो, यो विवाद व्यक्तिगत हिसाबले मैंले समाधान गर्न सक्ने ल्याकत राख्दिन”, साहले भनेका छन्, “पार्टी नेतृत्वबाटै हस्तक्षेप गरेर समाधान खोजिनुपर्छ ।”
मधेशको समग्र पार्टी कमिटीलाई राजनीतिक प्रशिक्षणको पनि खाँचो भएको उनले बताएका छन् । मधेशमा अवसरवादी समूहहरु मौलाएको र पार्टीभित्र अवसरवादीको बाहुल्यता रहेको उनले बताए ।
वि.सं.२०७९ जेठ ८ आइतवार ११:४९ मा प्रकाशित
























