back

आधार इलाका भनिएको कर्णालीमा किन कमजोर देखियो माओवादी ?

वि.सं.२०७९ जेठ १० मंगलवार

111 

shares
NTC AD
Global IME AD

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५ पालिका जितेको थियो । एमालेले २७ पालिका जित्दा कांग्रेस र माओवादी केन्द्रले बराबर २५/२५ पालिका जितेका थिए ।

०७४ मै भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पनि माओवादी केन्द्र कर्णालीमा दोस्रो बलियो शक्तिको रुपमा देखिएको थियो । तर, तत्कालिन समयको नतिजा कर्णालीमा क्रमिकरुपमा बदलिँदै गरेको छ ।

कर्णालीमा सबै हिसाबले तेस्रो दलको हैसियतमा देखिएको कांग्रेस स्थानीय निर्वाचनसँगै बलियो शक्तिको रुपमा उदाउन थालेको छ । स्थानीय निर्वाचनमार्फत ३२ पालिका जित्दै कांग्रेस पहिलो शक्ति बन्दै गर्दा एमाले साबिकको १२ पालिका गुमाउँदै १५ पालिकामा खुम्चिएको छ । एमाले धेरै कमजोर बनेको नतिजा आउँदा माओवादी केन्द्र पनि खुम्चिएको देखिन्छ ।

०७४ मा २५ पालिका जितेको माओवादी अहिले २३ पालिकामा सिमित भएको छ । जितेका पालिकामा पनि माओवादीले बलियो प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गरेको छ । सल्यान, जाजरकोट, हुम्ला, जुम्लालगायतका जिल्लामा माओवादी साबिकभन्दा कमजोर देखियो । प्रदेशको राजधानी रहेको सुर्खेतमा माओवादीले आफुँलाई निकै कमजोर रुपमा उभ्याएको छ ।

०७४ फागुनदेखि ०७८ कात्तिकसम्म निरन्तर प्रदेशसभा सरकारको नेतृत्वसमेत गरेको माओवादी आफ्नै आधार क्षेत्र मानिएको कर्णालीमा किन कमजोर बन्दै गयो ? प्रश्न तेर्सिन्छ ।

कर्णालीमा बेग्लै गठबन्धन

कर्णालीमा केन्द्रमा घोषणा गरिएको पाँच दलीय गठबन्धन कार्यान्वयनमा गएन । माओवादीको आधार इलाका भनिएकै क्षेत्रमा कांग्रेस, एमाले र विप्लवसहितका शक्तिहरु मिले । सबै शक्ति एकातिर र माओवादी अर्कोतिर हुँदाको परिणाम नतिजामा देखिएको कर्णालीका माओवादी सांसद तथा नेता बिन्दमान विष्ट बताउँछन् ।

“केन्द्रमा एउटा गठबन्धन घोषणा गरेपनि कर्णालीमा आइपुग्दा त्यो गठबन्धन अर्को रुपमा व्यक्त भयो, माओवादीको विशेष प्रभाव क्षेत्र रहेका ठाउँहरु केन्द्रीत गरेर कांग्रेस–एमालेसहितका शक्तिहरु मिले”, माओवादी नेता विष्टले भनेका छन्, “तथापी हामीले धेरै ठाउँमा जितेका छौं । एक दुई ठाउँमा गुमाएको भएपनि कर्णालीमा माओवादीप्रति थप मतदाताको विश्वास बढेको छ ।”

०७४ मा एकलौटी जितेको पश्चिम रुकुममा गठबन्धनकै कारण माओवादीले २ पालिका गुमाएको उनले बताए । पश्चिमी रुकुमको बाँफिकोट र मुसिकोटमा कांग्रेसका उम्मेदवारले जितेका छन् । जहाँ कांग्रेस–एमाले–समाजवादीसहितका शक्तिहरु एकातिर र माओवादी अर्कोतिर भएको थियो ।

“निर्मम समीक्षा गर्छौं”

पछिल्लो नतिजाको विषयमा माओवादी केन्द्रले समीक्षा गर्ने भएको छ । नेता विष्टका अनुसार उम्मेदवार छनोटदेखि हारिएको ठाउँबारे माओवादीभित्र समीक्षा हुनेछ ।

“यो नतिजा जे आएको भएपनि निर्मम समीक्षा गर्नुपर्छ, हामी छिट्टै त्यो तयारीमा छौं”, विष्टले भनेका छन्, “अहिलेको निर्वाचनले माओवादीका लागि ठूलो पाठ सिकाएको छ, आउँदै गरेको प्रादेशिक र संघीय निर्वाचनलाई ध्यान राखेर पनि हामीले निर्मम समीक्षा गर्छौं ।”

आधार इलाका भनिएको कर्णालीलाई माओवादीमय बनाउन विशेष कार्यक्रम बनाउनुपर्ने उनको भनाई छ ।

सम्बन्धित समाचार

किन मधेशबाट बढारिन थाल्यो माओवादी ?

वि.सं.२०७९ जेठ १० मंगलवार १४:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD