back
CTIZAN AD

टी ट्वान्टी लिग खेल्ने ६ टोलीको नाम सार्वजनिक, खेलाडीको पारिश्रमिकमा वृद्धि

वि.सं.२०७९ जेठ ११ बुधवार

609 

shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी-ट्वान्टी लिग खेल्ने ६ टोलीको नाम सार्वजनिक गरेको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने ६ टोलीको नाम क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए । मल्लका अनुसार टी-ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं , पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न रहेका छन् ।

बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिँदै सङ्घको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ ।

त्यस्तै क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने क्यानले जनाएको छ । बैठकले २०२२ अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टोलीका महिला तथा पुरुष खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिवि मैदान पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ ।

राष्ट्रिय पुरुष टोली खेलाडीको मासिक पारिश्रमिक रु १० हजारले वृद्धि गरिएको छ भने महिला टोलीका ए र बी श्रेणीका खेलाडीको रु.६ हजारको दर वृद्धि गरिएको छ भने सी श्रेणीका खेलाडीको रु ५ हजारका दरले बढाएको छ ।

यस्तै सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक रु.३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक रु. ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक रु.६ हजारले वृद्धि गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार १४:२७ मा प्रकाशित