काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको पुस्तक वितरणमा रोक लगाएको तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका माओवादी सांसद गिरिराजमणि पोखरेलले दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बाेल्दै उनले ओलीले कालापानी तथा लिपुलेकसम्बन्धी नक्सा नै बनाउन नचाहेकाे बताए ।
‘यो सदनमा प्रतिपक्षी दलको नेता केपी ओलीले प्रजातन्त्र, राष्ट्रियताबारे लामो प्रवचन दिनुभयो । मैले सुनिरहेँ । दुई पटक संसद् विघटन गर्नुभयो; उहाँले त्यो गल्ती कतै स्वीकार गर्नुभएन’, पाेखरेलले भने,‘राष्ट्रियताको कुरा गरिरहँदाखेरि म शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक, कालापनीसम्बन्धि पुस्तकलाई उहाँले रोक लगाउनुभयो । एउटा कार्यदल बनाउनुभयो । एकपटक पनि बैठक राख्नुभएन र किताब किन रोकियो जवाफ दिनुभएन ।’
तत्कालीन शिक्षामन्त्री पोखरेलले राष्ट्रियताबारे जवाफ दिनुपर्ने ठाउँमा ओली पनि भएको बताए । ‘साच्चै प्रजातन्त्र र राष्ट्रियताको कठघेरामा तपाईं पनि हुनुहुन्छ । राष्ट्रियता, प्रजातन्त्र र कूटनीति दाउपेचका विषय हुन सक्दैनन्,’ उनले भने ।
शेरबहादुर देउवाको सरकारले नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नराखेकोमा पनि उनले असन्तुष्टि जनाए । ‘नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई छोडेको छ । यसमा खुट्टा नकमाउनुस्,’ सरकारलाई उनको सुझाव थियो, ‘चीनलाई सशंकित गराएर र नेपाललाई अमेरिकी कित्तामा लगेर नेपालको हित हुँदैन । प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति अहिलेदेखि नै सचेत हुन जरुरी छ । एमसीसी अघि बढेको कुरा उल्लेख छ । संसद्बाट पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा के भयो त्यसको पनि जवाफ अपेक्षित छ ।’
ओली प्रधानमन्त्री रहेको बेला जनशक्ति प्रक्षेपण प्रतिवेदन र शिक्षा आयोगको प्रतिवेदन पनि रोकिएको तत्कालीन शिक्षामन्त्री पोखरेलले दाबी गरे । उनले भने, ‘शिक्षा मन्त्रालय र योजना आयोगले तयार गरेको प्रतिवेदन प्रधाानमन्त्री कार्यालयमा अड्किएको छ । त्यो पनि जनताको खर्चमा तयार गरिएको हो । शिक्षा आयोगको प्रतिवेदन पनि अघिल्लो सरकारले रोकेको थियो । तत्कालीन सरकार प्रमुखको सोचसँग नमिलेको कारणले रोकिएको हो भन्ने कुरा पनि म राख्न चाहन्छु,’ उनले भने ।
वि.सं.२०७९ जेठ १४ शनिवार १६:०१ मा प्रकाशित






























