काठमाडौं । हराएको तारा एयरको विमान खोज्न गएको फिस्टेल एयरको हेलिकोप्टर मौसम प्रतिकुल हुँदा खोजीकार्य नै नगरि फर्किएको छ । नेपाल नागििरक उड्डयन प्राधिकरणले जनाएअनुसार मौसम प्रतिकुल भएका कारण हेलिकप्टर जोमसोम नै फर्किएको हो ।
प्राधिकरणले मौसम अनुकुल हुनासाथ पुन खोजीकार्य सुरु गरिने जनाएको छ । अहिले काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोजी कार्य गर्न हेलिकप्टरहरु स्टाण्डवाई राखिएको प्राधिकरणले जनाएको छ ।
बिहान ९ः५५ मा पोखराबाट उडेको ताराको ट्विन अटर ९ एनइटी विमान मुस्ताङको घोडेपानी भन्ने स्थानमा पुगेसँगै १०ः०७ देखि सम्पर्क विहीन भएको थियो । विमान लेते डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । मुस्ताङ प्रहरीले जनाएअनुसार उक्त क्षेत्रमा ठूलो विस्फोट भएको आवाज आएको भन्दै स्थानीयले खबर गरेको जनाएको छ ।
प्राधिकरणका अनुसार अहिले उक्त क्षेत्रमा स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी खटिएका छन् । मौसम अनुकुल नभएको कारण खोजीमा समस्या भइरहेको बताइएको छ ।
वि.सं.२०७९ जेठ १५ आइतवार १३:०२ मा प्रकाशित






























