काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले फोहोर व्यवस्थापन नभएसम्म अरू कुरा नगर्ने बताएका छन् । सोमबार पदभार सम्हालेपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको बताए ।
उनले काठमाडौंको फोहोरका कारण सिसडोलवासीले स्वच्छ हावा र पानी पिउन नपाएको भन्दै उनीहरूको समस्याको पनि समाधान खोज्नुपर्ने बताए । मेयर साहले फोहोर व्यवस्थापनको काम कतिपय ठाउँमा एक हप्तामा हुने र केहीलाई समय लाग्ने बताए ।
“हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ, उहाँहरू क्यान्सर पीडित हुनु भएको छ । उहाँहरुलाई छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ । यो शोक मनाउने बेला हो”, मेयर साहले भने, “फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।”
नेपाली र नेवारी भाषामा सपथ लिएका मेयर बालेनले नगर कार्यपालिकाको बैठकहरु लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका छन् ।
वि.सं.२०७९ जेठ १६ सोमवार १४:३१ मा प्रकाशित






























