यदि तपाई विदेशमा हुनुहुन्छ र आफुले कमाएको पैसा लगानी गरेर राम्रो प्रतिफल पाउन चाहानुहुन्छ भने राष्ट्र बैंकले तपाईका लागि त्यस्तो अफर दिएको छ ।
नेपालको केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै यस्तो अफर सार्वजनिक गरेको हो । सो अफरमा १२.५० प्रतिशत व्याज दिने बताइएको छ । बैंकले विदेशमा रहेका नेपाली तथा उनीहरुका नेपालमा रहेका परिवारका लागि बैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हो ।
जेठ १८ गतेदेखि असार ६ गतेसम्म तपाईले अनलाइनमार्फत् फारम भरेर थोरैमा १० हजार र त्यो भन्दा बढी जति सक्नुहुन्छ त्यति बचत गर्न सक्नुहुन्छ । त्यसको बदलामा तपाईलाई बैंकले १२.५० प्रतिशत व्याज प्रत्येक महिना तपाईको आफ्नै खातामा जम्मा गरिदिनेछ । उक्त ऋण तपाईले राष्ट्र बैंकलाई पाँचवर्षसम्मका लागि दिनुपर्नेछ भने तपाईले जम्मा गरेको रकमको व्याज बैंकले प्रत्येक ६/६ महिनामा तपाईको आफ्नो खातामा जम्मा गरिदिनेछ ।
‘६/६ महिनामा प्राप्त हुने बचतपत्र खरीदकर्ता आफैले वा इच्छाइएको व्यक्तिमार्फत् भुक्तानी लिन सकिने छ ।’ बैंकद्धारा जारी सूचनामा भनिएको छ ।
‘यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्ने ।’
बैंकका अनुसार यो बचतपत्र धितो राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन पनि सकिने छ भने उक्त बचत पत्रमार्फत् गरिएको लगानीको सावा भुक्तानी २०८४ असार १३ गते गरिने पनि र्बैंकले जनाएको छ ।
त्यसैगरी विभिन्न देशमा रहेका नेपाली दूतावासले पनि त्यहाँ कार्यरत नेपाली नागरिकलाई बैदेशिक रोजगार बचतपत्र खरिद गरेर लाभ लिन समेत अनुरोध गरेको छ ।
यस्तो छ राष्ट्र बैंकको सूचना



वि.सं.२०७९ जेठ १९ बिहीवार १७:०१ मा प्रकाशित






























