काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकै कारण स्थायी समिति सदस्य घनश्याम भुसालमाथि पार्टी अनुशासन आयोगले कारबाही सिफारिस गरेसँगै एमालेभित्र खैलाबैला मच्चिएको छ । भुसालमाथि कारबाहीको सिफारिस भएसँगै एमालेभित्र पुनः पार्टी विभाजन अघिको अवस्था आउने चिन्ता हुन थालेको छ ।
भुसालले हालै एक टेलिभिजन अन्तवार्ताको क्रममा अध्यक्ष ओलीको कार्यशैलीकै कारण एमालेले पराजय व्यहोरेको भन्दै आलोचना गरेका थिए । भुसालले गरेको आलोचनाको विषयमा बुधबार बसेको अनुशासन आयोगको बैठकले नीतिविपरीत बोलेको भन्दै स्पष्टीकरण सोध्न सिफारिस गरेको थियो ।
तर, भुसालले भने कारबाहीको सिफारिस गर्ने निर्णय विनाशकाले विपरीत बुद्धि हो भन्ने टिप्पणी गरेका छन् । उनले आफुलाई स्पष्टीकरण सोध्ने नैतिक साहस कसैसँग नभएको पनि बताएका छन् ।
“त्यो निर्णय विनाशकाले विपरीत बुुद्धि हो भन्ने लाग्छ, स्पष्टीकरण सोध्ने नैतिक साहस र ग्राउण्ड छ भन्ने मलाई लाग्दैन किनभने स्पष्टीकरण त तिनीहरुलाई नै सोध्नुपर्ने हो”, भुसालले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, “पार्टी यो स्थितिमा पुग्दा अनुशासन त माथिबाट लाग्नुपर्ने हो, माथिको अध्यक्ष, सचिवालयलाई लाग्छ, तर मलाई मात्र देखेको हो भने बेग्लै कुरा ।”
भुसाललाई नै केन्द्रीत गरेर अनुशासन आयोगले कारबाही सिफारिस गर्नु नियोजित पनि देखिन्छन् । कतिपयमा पछिल्लो कदमले एमालेभित्र थप व्रिगह आउनसक्ने चिन्ता पनि देखिएको छ ।
घनश्याम भुसालमाथि कारबाही सिफारिस गर्ने निर्णय गलत भएको नेता योगेश भट्टराईको भनाई छ । उनले उक्त निर्णयले पार्टीलाई सही ठाउँमा नपु¥याउने टिप्पणी पनि गरेका छन् । “अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि कृया र प्रतिकृयाले सहि ठाउँमा पुर्याउँदैन । फेरि पनि बादे बादे जायते तत्व बोध !”, उनले भनेका छन् ।
भुसाल १० बुँदे सम्झौतासँगै एमाले फर्किएका नेता हुन् । एमाले फर्किएपनि उनीसहितको पंक्तिमाथि एकअर्को विषयमा पीडित बनाउने व्यवहार भइरहेका देखिन्छन् । तर, पछिल्लो कारबाहीको तयारीले भने पुनः गम्भीर विवाद सिर्जना हुने देखिन्छ ।
ओली पंक्तिमै गम्भीर विवाद
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले सबै महानगरमा पराजय व्यहोरेको छ । एमालेले पराजय व्यहोरेका सबैजसो महानगरमा अन्तरघात भएको विषय पनि उठेको छ । मुख्यतः काठमाडौं, भरतपुर र पोखरामा अन्तरघात गरिएको शैलीमा निर्वाचनको परिणाम आएका छन् । जसप्रति एमालेमा छानबिन गर्ने विषयमा माग उठेको छ ।
काठमाडौंमा केशव स्थापित पक्षले रामवीर मानन्धर पक्षमाथि छानबिन हुनुपर्ने माग गरेको छ भने भरतपुरमा १० बुँदे पक्षधर र देवी ज्ञवाली पक्षधरमाथि छानबिनको माग गरिएको छ । यता खगराज अधिकारी पक्षले पोखरामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङमाथि नै छानबिन गरि कारबाही गर्नुपर्ने माग पार्टीभित्र चलाएका छन् ।
एमालेको प्रारम्भिक समीक्षा पनि निर्वाचनमा पराजित हुनुको कारण अन्तरघात भन्ने छ । यदि अन्तरघातको छानबिन भए र कारबाही गरिए प्रदेशसभा र संघीय निर्वाचनकै मुखमा एमाले विभाजनमा जानसक्ने देखिन्छ । तथापी, कतिपय नेताले अन्तरघातीलाई कारबाही नगरी पार्टी अगाडि बढ्न नसक्ने बताइरहेका छन् । नेता खगराज अधिकारी निर्वाचनको गम्भिर समीक्षा नगरे आगामी निर्वाचन पनि एमालेको पक्षमा नहुने बताउँछन् ।
वि.सं.२०७९ जेठ २२ आइतवार १४:१२ मा प्रकाशित






























