काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सरकारले पूर्ववर्ती सरकारले अगाडि बढाएका अधिकांश आयोजनाहरु हटाएको भन्दै विरोध जनाएको छ । विनियोजना विधेयकमाथि छलफलका लागि मंगलबार बसेको संसद बैठकमा भाग लिएका अधिकांश एमाले सांसदहरुले बजेट एकपक्षीय भएको भन्दै विरोध जनाए ।
संसद बैठकमा बोल्दै एमाले सांसद वसन्तकुमार नेम्वाङले वर्तमान सरकारले अघिल्लो एमाले सरकाले ल्याएका १४ सय आयोजना बजेटबाट हटाएको भन्दै आपत्ति जनाए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै अहिलेको सरकारले भौतिक पूर्वाधारका योजनाबारे राम्रोसँग बजे छुट्याउन नसकेको आरोप लगाए ।
अहिलेका भौतिक पूर्वाधार मन्त्रीसँग मन्त्रालय चलाउने ढंग नै नपुगेको, आसेपासे योजनालाई हचुवाको भरमा बजेट छुट्याइएको उनको आरोप छ। सोही कारण पनि आफूले एक रुपैयाँ बजेट राख्नुपर्ने प्रस्ताव प्रस्तुत गरेको उनको भनाइ छ ।
त्यस्तै, एमाले सांसद भानुभक्त ढकालले पर्यटन मन्त्रीको जिल्लामा पर्यटन मन्त्रालयसम्बन्धी पाँच लाखका एक सयभन्दा बढी आयोजना पारिएको भन्दै विरोध जनाए । पर्यटनमन्त्री प्रेम आलेको एउटा नगरपालिकामा ३२ वटा आयोजना पारिएको तर समग्र मधेस प्रदेशमा पर्यटन मन्त्रालयसँग सम्बन्धित ४३ वटा पारिनुले बजेटमा विभेद गरिएको उनको भनाई थियो ।
सांसद ढकालले गठबन्धन सरकारको आलोचना गर्दै अहिलेका पर्यटनमन्त्री बतास समूहसँग मिलेको आरोप पनि लगाए । हिजो कुरा नसिल्दा विरोध गरिएको, कारबाहीको दायरामा ल्याइए पनि अहिले गुपचुप राखिएको उनले बताए ।
वि.सं.२०७९ जेठ २४ मंगलवार १८:०५ मा प्रकाशित






























