काठमाडौं । अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन काठमाडौं आइपुगेका छन् । चार दिने नेपाल भ्रमणको सिलसिलामा फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए ।
चार दिन नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने जनाइएको छ। उनले भेटकाे सुरूवात प्रधानसेनापति प्रभुराम शर्माबाट सुरू गर्दैछन् ।
शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गरेका छन् ।
जनरल फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमण गरेर उनी अमेरिका फर्कनेछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण गर्नुअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बन्धित समाचार
वि.सं.२०७९ जेठ २६ बिहीवार १६:२१ मा प्रकाशित






























