काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फाल्ने सम्बन्धमा काठमाडौं उपत्यका र सिसडोल बन्चरेडाँडाका स्थानीयबासीबीच १८ बुँदे सहमति भएको छ ।
बिहीबार राति महानगरपालिका र सिसडोल बन्चरेडाँडाका स्थानीयवासीबीच भएको १८ बुँदे सहमतिको बुदा नं १ मा काठमाडौं महानगरपालिकाबाट बन्चरे डाँडा कुँडुलेसम्म फोहर ढुवानी गर्ने कार्य दीर्घकालिन रुपमा रातिमा मात्रै गरिने सहमति भएको हो । उक्त सहमतिमा रातीका लागि आवस्यक पूर्वाधार, बत्ती तथा बाटोको निर्माण र व्यवस्था महानगरपालिकाले तीनमहिना भित्र गर्नुपर्ने सहमति भएको हो ।
त्यस्तै एकमहिनाभित्रमा फोहरबाट दुर्घन्ध नआउने व्यवस्था गर्नुपर्ने तथा फोहरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र बैज्ञानिक व्यवस्थापन गर्नुपर्ने पनि उक्त सहमतिमा भनिएको छ ।
त्यस्तै बुँदा नं ७ मा प्रभावित क्षेत्रको पहिचान भइसकेपछि अधिग्रहण, मुआब्जा वितरण लगायतका कार्य गर्न महानगरपालिकाले नेपाल सरकारकोृ सम्बद्ध मन्त्रालय तथा निकायमा पहल गर्ने सहमति भएको छ ।
त्यसैगरी प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्दिका लागि महानगरले सहयोग गर्ने, फोहरमैला आसपास क्षेत्रलाई सम्भव भएसम्म हरियाली क्षेत्रको रुपमा विकास गर्ने, प्रभावित क्षेत्रमा कृषि प्रवद्र्धनका कार्यक्रमहरु संचालन गर्नुपर्ने, प्रभावित क्षेत्रमा आवत जावत गर्ने तीन पिप्ले गल्छी बैकल्पिक राजमार्गको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने, तीनपिप्ले बञ्चरे डाँडासम्मको हाल फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लगत कायमका लागि पहल गर्ने लगायतका १८ बुँदे सहमति भएको हो ।


वि.सं.२०७९ जेठ २७ शुक्रवार १०:४५ मा प्रकाशित






























