काठमाडौं । अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ ।
भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परिक्षण र निर्माण गरिएको सो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विभिन्न प्रयोजनहरुको लागि उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो छ । कम्पनीले सो जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध रहेको जनाएको छ । कम्पनीले नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरेको छ ।
टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरणको सुरुवात गर्न पाउँदा खुसी भएको बताए । उनले टाटा मोटर्स सधै उच्च एवं नवीन उत्पादनहरुले आफ्नो ग्राहकहरुको इच्छा र आकांक्षा पूरा गर्र्न कटिबद्ध रहेको बताए ।

प्रमुख कृष्णनले भने “टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्नेछ । सिप्रदी ग्रुप दशकौंदेखि टाटाका कमर्सिअल गाडीहरुको बिक्री तथा सेवा सम्बन्धी कार्यलाई उत्कृष्ट ढंगले सम्पन्न गर्न प्रतिबद्ध छ । र यही प्रतिबद्धता यस ग्रुपले जेनभोल्टज प्रति प्रदर्शन गर्नेमा हामी विश्वस्त छाैं ।”
यसैगरी, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने,“आफ्नो स्थापनाकालदेखि नै सिप्रदी ट्रेडिङ्ग आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकहरुको इच्छा र आवश्यकताहरुलाई परिपूर्ति गर्न प्रतिबद्ध छ । टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ उर्जा प्रदान गर्नेछ । हामी पूर्ण विश्वस्त छौं कि टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुनेछ ।”
कम्पनीले सीपीसीबी २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको सो जेनभोल्टजले इन्धनको कम खपत गर्न जनाएको छ ।
कम्पनीका अनुसार जेनभोल्टजको विशेष प्रकारको इन्जिनको आयु लामो छ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई यो उत्पादन उपयुक्त भएको जनाएको छ ।
वि.सं.२०७९ जेठ २९ आइतवार १८:०६ मा प्रकाशित






























