
काठमाडौं । एमसीसी पछि अमेरिकी पक्षबाट दुई सेनाबीच सहकार्य गर्नेगरि स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको प्रस्ताव अगाडि बढाएसँगै राजनीतिक वृत्तमा ठूलो तरंग सिर्जना भएको छ । अमेरिकी प्रस्तावले मुलुकलाई भूराजनीतिक द्धन्द्धमा धकेल्न सक्ने भन्दै चिन्ता व्यक्त भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अमेरिकी पक्षको बाक्लिँदो भ्रमण र पछिल्लो प्रस्तावप्रति गम्भीरता व्यक्त गरेको छ । एमालेले देशलाई योजनागत रुपमै भूमराजनीतिक द्धन्द्धमा धकिलिएको पनि आरोप लगाएको छ ।
सोमबार केन्द्रीय सचिवालय बैठक नै बसालेर एमालेले सरकारको पछिल्लो रवैयाप्रति धारणा बनाएकाे थियाे । “वर्तमान सरकारका कामबाट जसरी नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्धन्द्धतिर धकेल्ने काम भइरहेको छ, त्यसप्रति हाम्रो गहिरो चिन्ता छ”, एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले भनेका छन्, “देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनतामाथि आँच आउने कुनै पनि गतिविधि हुन नदिन आवश्यकताअनुसार एमालेले कदम चाल्छ ।”
यता, अमेरिकी प्रस्तावप्रति कांग्रेस सकारात्मक रहेको भनिएका बेला सत्ता साझेदार माओवादी केन्द्रले भने कडा रुपमा विमती जनाएको छ । माओवादी केन्द्रले उक्त प्रस्तावप्रति प्रारम्भिक रुपमा आपत्ति नै जनाएको छ ।
माओवादी केन्द्रले छिट्टै केन्द्रीय समिति वा स्थायी समिति बैठक बसालेर अमेरिकी पक्षको प्रस्तावबारे निर्णय गर्ने तयारी गरेको छ । अमेरिकी पक्षको प्रस्ताव निकै घातक रहेको प्रारम्भिक प्रतिक्रिया दिँदै नेता लिलामणी पोखरेलले भने, “हामी छिट्टै मिलेसम्म केन्द्रीय समिति बैठक बोलाएर यस विषयमा निर्णय गर्नेछौं । यो प्रस्तावबारे औपचारिक धारणा बनाउने छौं । हाम्रो प्रारम्भिक धारणा यो प्रस्ताव नेपालको निम्ति निकै घातक छ ।”
नेटोमा आवद्ध गराउने रणनीतिअनुसार अमेरिकी प्रस्ताव आएको माओवादीको प्रारम्भिक बुझाइ छ । प्रस्तावबारे पोखरेलले भनेका छन्, “अमेरिकाले हामीलाई आफ्नो सैन्य संगठन (नेटो)मा आबद्ध गराउन खोजेको देखिन्छ । यदि त्यसो भयो भने हामी सामरिक द्धन्द्धका निश्चितै रुपमा फस्छौं ।”
सत्ता साझेदार सरकारको तयारीप्रति अनविज्ञता व्यक्त गरेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै जवाफ माग गरेका छन् । सोमबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले पछिल्ला गतिविधि सशंयपूर्णं देखिएको भन्दै प्रधानमन्त्री देउवासँग जवाफ माग गरेका थिए ।
सत्ता साझेदार जनता समाजवादी पार्टी जसपाले पनि अमेरिकी प्रस्तावप्रति सशंय व्यक्त गरेको छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी प्रस्तावलाई भूराजनीतिक संवेदनशीलतामा जोडेर हेर्न पर्ने बताएका छन् । “ हिमाली क्षेत्रमा मडारिदो नयाँ शितयुद्धको खतराको पृष्ठभूमिमा अमेरिकासँग यो १० बुँदे स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागिएको हो भने हतार नगरौं, यसमा सैनिक गठबन्धनकै हस्को आउॅछ, भूराजनीतिक संवेदनशीलता हेरौं”, भट्टराईले भनेका छन्, “१० चोटि नापेर एकचोटि काट्नु जो भनिन्छ !”
अमेरिकी प्रस्ताव पछि नारायणकाजीको दौडधुप
तत्कालिन समय एमसीसी असफल बनाउन लागिपरेका माओवादी नेता नारायणकाजी श्रेष्ठले पछिल्लो प्रस्तावसँगै राजनीतिक दौडधुप बढाएका छन् । माओवादी केन्द्रभित्र सघन छलफल चलाएका श्रेष्ठले यसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्मलाई भेट गरेका छन् ।
श्रेष्ठले उक्त प्रस्तावको विरुद्धमा मत जुटाउन पछिल्लो दौडधुप गरेको बुझिएको छ । उनी निकटका एक नेताले बताएअनुसार श्रेष्ठ अमेरिकी प्रस्तावलाई कुनै पनि हालतमा अगाडि बढाउन नहुने पक्षमा लागेका छन् ।
साना दल आन्दोलनको तयारीमा
एमसीसी प्रकरणदेखि नै आन्दोलनमा देखिएका साना राजनीतिक दलहरु यसपटक पनि सडक तताउने तयारीमा देखिएका छन् । अमेरिकी प्रस्तावको विरोधमा रहेका उनीहरु एकत्रित भएर सडकमा जाने तयारीमा छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी बाह्य हस्तक्षेपका विरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा आफुहरुबीच छलफल चलिरहेको बताए । “अमेरिकाले देशमा सिधा–सिधा हस्तक्षेप गर्ने अवस्था बन्यो, पछिल्लो प्रस्तावले नेपाललाई महाशक्तिको रणमैदान बनाउने जोखिम देखियो”, संसार न्यूजसँगको कुराकानीमा सुवेदीले भनेका छन्, “जनताको तहबाटै प्रतिरोध नगरी हुँदैन, हामी संयुक्त रुपमै सडक आन्दोलन गर्ने तयारीमा छौं ।”
उनका अनुसार एमसीसीको मुद्दामा सडकमा आएका सबै शक्तिहरुबीच गोलबन्द गरेर आन्दोलन गर्ने तयारी छ । उनका अनुसार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपासहितका दलहरुबीच संयुक्त रुपमा सडक आन्दोलन गर्ने विषयमा छलफल चलिरहेको छ ।
सम्बन्धित समाचार
एमसीसी पछि एसपीपी, यस्तो छ अमेरिकी सेना भित्र्याउने रणनीति
देउवाको अमेरिका भ्रमणप्रति किन उठ्दैछ प्रश्न ?