
पर्सा । पर्सामा दिदीको घरमा बस्न आएका भाइको हत्या भएको छ ।
बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोलका ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले उनका भिनाजु हिरामन महरा,सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ का ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् ।
शनिबार बिहान जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो । उनीहरुमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति मृतकको भिनाजु हिरामन महरा समेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।