काठमाडौं । शनिबार नेकपा (एमाले) निकट मदन भण्डारी फाउण्डेशनले चर्चा र विवादको केन्द्रमा रहेको अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे छलफल कार्यक्रम आयोजना गरेको थियो । ‘वर्तमान कुटनीतिक अभ्यास र यसका प्रभावहरु’ नाम दिइएको उक्त कार्यक्रममा आयोजकले माओवादी केन्द्रका नेता वर्षमान पुनलाई पनि वक्ताको रुपमा बोलाएको थियो ।
एमालेको आन्तरिक कार्यक्रम जस्तो देखिएको उक्त कार्यक्रममा माओवादीको तर्फबाट पुन एक्लारूपमा उपस्थित थिए । एसपीपीको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा एमालेको पंक्तिले तत्कालिन सरकारलाई झुक्याएर नेपाली सेनाले पत्र पठाएको दाबी गरेको थियो । एमालेका नेता प्रदिप ज्ञवालीले एसपीपीमा नेपाललाई पनि राखेको पाइएपछि तत्कालिन सरकारले नै एसपीपी स्थगन गराएको पनि दाबी गरेका थिए ।
“२०१५ र २०१७ मा अमेरिकाले पत्रचार गरेको देखिन्छ, योबीचमा जति पटक सेना र इण्डो प्यासिफिक कमाण्डबीचमा कुराकानी भयो त्यो राजनीतिक नेतृत्वलाई थाहा थिएन”, ज्ञवालीले भनेका छन्, “सेनाले गरेको पत्रचारअनुसार रक्षाले त्यसको अनुमति दियो, तर खास कुरा सरकारलाई थाहै भएन ।”
जुन एसपीपीको प्रकरणमा फसेसँगै एमालेले बोलिरहेको भाषा हो । एमसीसी ल्याउन जोडबल गरेको एमाले नेतृत्वले तत्कालिन समय एसपीपीमा पनि सम्झौता गरेको विषय नेपाली सेना र अमेरिकी पक्षले बताउँदै आएको छ ।
केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले नै नेपाली सेनालाई तत्कालिन समय पत्राचार गर्न भनेको विषय सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्पष्ट पारेका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई जवाफ दिँदै उनले पत्राचार सरकारसँग अनुमित लिएर नै सेनाले पठाएको बताएका थिए ।
एमालेको बचाउमा बोले वर्षमान
एसपीपी प्रकरण बाहिरिएसँगै सत्ता गठबन्धनले नै तत्कालिन ओली नेतृत्वले एसपीपीमा सम्झौता गरेको बताउँदै आएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक सार्वजनिक कार्यक्रममार्फत नै ओलीले एसपीपी भित्र्याएको दाबी गरेका छन् ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भनेका छन्, “कोही भ्रममा पर्न जरुरी छैन । बरु यो एसपीपी सम्झौता कार्यन्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो सबैले बुझ्न जरुरी छ”, प्रचण्डले भनेका थिए, “तर, गठबन्धन नेपालको राष्ट्रियता, स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौं ।”
प्रचण्डसहित गठबन्धनका नेताहरुले ओली र एमालेको विरुद्धमा अभिव्यक्ति दिइरहेको समय वर्षमानले भने एमालेको मञ्च प्रयोग गरेर नेपाली सेनालाई गाली गरेका छन् । उनले ओलीको भाषा बोल्दै भनेका छन्, “नेपाली सेनाको व्यावसायिक निष्ठामा कुनै शंका छैन, तर, राजनीतिक नेतृत्वमार्फत आउनुपर्ने प्रस्ताव सेनामार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटक–पटक गरिएको पत्राचारलाई सामान्य रुपले हेरिनु हुँदैन ।”
उनले सेनाको नेतृत्वलाई चेतावनीपूर्णं भाषामा एसपीपीमा देखिएको जस्तै कदम नादोहोरियोस् पनि भनेका छन् । उनले अगाडि भनेका छन्, “परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्नेमा सेनामार्फत आउनु गम्भीर हो । यो नै अन्तिम पटक होस् ।”
यस्ताे भनेका थिए वर्षमानले
माओवादीभित्रको राजनीतिमा ‘एमाले कार्ड
माओवादी केन्द्रभित्र पदाधिकारी छान्ने विषयमा ठूलो किचलो छ । मुख्यतः महासचिव को बन्ने भन्ने विषयले माओवादीभित्र रडाको देखिन्छ । वर्षमान पुन महासचिवका एक उम्मेदवार पनि हुन् । तर, जनार्दन शर्माको कारण माओवादीभित्र उनी निर्विकल्प बन्ने अवस्था छैन् ।
माओवादीभित्रको राजनीतिक खिचातानीलाई आफ्नो पक्षमा पार्न वर्षमानले पछिल्लो समय एमाले कार्डको प्रयोग गर्न थालेको माओवादीका एक नेता बताउँछन् । वर्षमान वामपन्थीहरुबीच एकता हुनुपर्ने भन्दै एमालेसँगको सम्बन्ध नजिक बनाउने अभियानमा छन् । एमाले नेतृत्वबीच जनार्दनको सम्बन्ध बिग्रिएको बेला वर्षमानले सम्बन्धलाई आफ्नो अनुकुल बनाउन खोजेको उनको भनाई छ । उनका अनुसार पछिल्लो अभिव्यक्ति सोही गतिविधिको निरन्तरता हो ।
वि.सं.२०७९ असार ५ आइतवार १४:५१ मा प्रकाशित






























