
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायपालिकाभित्र हुने राजनीतिक नियुक्तलाई अन्त्य गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कोइरालाले यस्तो बताएका हुन् ।
उनले विभिन्न प्रतिवेदनका आधारमा न्यायपालिकाभित्र राजनीतिक नियुक्ती हावी हुने देखिएकाले यसलाई अन्त्य गर्नुपर्ने बताए । न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने धारणा उनको छ ।
मन्त्री शर्माले न्यायपरिषद्ले अहिले न्यायाधीश नियुक्ति सम्बन्धी निर्देशिका तयार गरेको र निर्देशिकाको मस्यौदामा छलफल भइरहेको जानकारी गराए। उनले यो हप्ता नै निर्देशिकाको अन्तिम रुप दिइ राजपत्रमा प्रकाशन गर्ने र त्यसको आधारमा नै निष्पक्ष प्रक्रियाबाट न्यायाधीशहरुको नियुक्ति गर्ने बताए।
उनले न्याय प्रणालीलाई सर्वसुलभ बनाउने र न्यायमा समान पहुँचका निम्ति सरकारले कानूनी सहायता कार्यक्रमलाई लामो समयदेखि सञ्चालन गर्दै आएको बताए । कमिसन प्रकरणमाथि उचित कारबाही हुने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।