काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदलाई लिएर पाँच दलीय सत्ता गठबन्धनभित्र तिव्र विवाद देखिएको छ । एकीकृत समाजवादीले सरकारको नेतृत्व छाड्न नमानिरहेका बेला गठबन्धनका दलहरुले अविश्वासको प्रस्ताव ल्याउनेसम्मको तयारी गरेका छन् ।
पूर्वसहमतिबमोजिम मुख्यमन्त्री राजेन्द्र पाण्डेले मार्गप्रशस्त नगरे आइतबारसम्म अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले गरेका छन्। त्यसका लागि उनीहरूले सांसदहरूको हस्ताक्षर संकलनसमेत सुरु गरेको बुझिएको छ । दबाब बढाउनका लागि आफ्ना मन्त्रीहरु फिर्ता बोलाउनेसम्मको तयारीमा दलहरु देखिएका छन् ।
एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई विस्थापित गरेर एकीकृत समाजवादीका पाण्डे पाँच दलीय गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेका थिए । तत्कालिन समय गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको थियो । तीन दलबीच भएको सहमतिअनुसार एकीकृत समाजवादी र कांग्रेसले आधा/आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, सहमतिबमोजिम मुख्यमन्त्री पाण्डेले हट्न आनाकानी गरेका छन् ।
शीर्ष तहबाटै समाधान खोज्ने प्रयास
बागमतीको विवाद यति गम्भीर अवस्थामा पुगेको छ कि विवादले सत्ता गठबन्धन नै भत्कीने अवस्था बन्दैछ । बागमतीमा सत्ता साझेदारबाटै अविश्वासको प्रस्ताव ल्याए सरकार कसको बन्ने अवस्था अन्योल छ ।
बागमतीमा सहमति तोडिए त्यसको असर तत्कालै प्रदेश १, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा देखिने छ । गठबन्धन कायम राख्न पनि एकीकृत समाजवादीलाई मनाउनु अहिले गठबन्धनका निम्ति हितकर देखिन्छ ।
बागमतीको विवादले समग्र सरकारहरु नै संकटमा पर्ने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन् । देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएअनुसार शुक्रबार साँझसम्म बैठक बसाल्ने तयारी भइरहेको छ । बैठकमा मुख्यतः बागमतीका बारे नै छलफल हुनेछ ।
वि.सं.२०७९ असार १७ शुक्रवार १३:२४ मा प्रकाशित






























