back
CTIZAN AD

१० वर्षे बैदेशिक रोजगारीबाट नेपाल फर्किएका जयराज कुरिलो खेतीबाट मनग्य आम्दानी गर्दै

वि.सं.२०७९ असार १७ शुक्रवार

639 

shares

टेकराज पोखरेल ,नवलपुर । भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गरे । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारमा थिए ।

वैदेशिक रोजगारमा लामो समय बिताएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउछन् । उनले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कुरिलो खेती सुरु गरेका हु्न । वैदेशिक रोजगारबाट फर्किएलगत्तै व्यावसायिक कुरिलो खेती गर्न सुरु गरेका ख्याजुले मेहेनत गर्ने हो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने उदाहारण प्रस्तुत गरेका छन् ।

नारायणी नदीको काखमा अवस्थित ब्रम्हस्थान बत्तीमुनिको अँध्यारोजस्तै छ । यो गाउँ हुँदै नारायणी बग्ने भए पनि यहाँ सिँचाइका लागि पानीको सुविधा छैन भने यहाँको खेतबारीमा बलौटे माटो भएका कारण स्थानीयवासीले अन्नबाली उब्जाउन सकेका थिएनन् । वर्षमा एकपटक मकैखेती गरिने बारीमा ख्याजुले बाह्रैमास हरियाली हुने कुरिलो खेती गरेर गाउँमा नै उदाहरणीय काम गरेका छन् ।

एक वर्षअघिदेखि मात्रै कुरिलो खेती सुरु गरेका उनले खेती सुरु गरेकै वर्ष रु सात लाख नाफा गरेको बताए । “लामो समय वैदेशिक रोजगारीमा बस्दा गरेको मेहेनत र अहिले नेपालमै कृषिमा गरेको मेहेनतमा आफैँले गरेको पेसाप्रति सन्तुष्टि मिलेको छ”, उनले भने, “बाहिर १० वर्ष बसेँ त्यहाँ दिनको रु दुई हजारमात्रै कमाइ हुन्थ्यो, तर अहिले यहाँ कुरिलो राम्रो भयो भने महिनामा रु ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको छु ।”

कुरिलो उत्पादन हुने समय र गोडमेलका बेलामा स्थानीयवासीलाई दैनिक ज्यालादारीमा काम गराउने गरेको उल्लेख गर्दै उनले अन्य समयमा आफ्नै परिवारले कुरिलोको रेखदेख गर्दै आएको बताए ।

उनका भाइ विश्वराज ख्याजुले ब्रम्हस्थानमै आएर १० वर्ष अघिदेखि व्यावसायिक कुरिलो खेती गर्दै आएका छन् । उनले सुरुमा परीक्षणका रूपमा थोरै जमिनमा कुरिलो खेती गरेको उल्लेख गर्दै उत्पादन र बजार राम्रो भएपछि खेती विस्तार गरेर अहिले तीन बिघा क्षेत्रफलमा कुरिलो खेती गरेको बताए । विश्वराज नवलपुर आउनुअघि भक्तपुरमै कुरिलो खेती गर्दै आएका थिए ।

“भक्तपुरमा कुरिलो खेतीका लागि जग्गा प्रशस्त नभएका कारण कुरिलो खेती गर्न नवलपुरसम्म आइपुगेँ”, विश्वराजले भने, “सुरुमा रु १२ लाख लगानी गरेर कुरिलो खेती सुरुआत गरेको थिएँ, अहिले वर्षमा रु २५ लाखसम्म आम्दानी हुने गरेको छ ।” विश्वराजले कुरिलो खेतीबाट वार्षिकरूपमा रु १२ देखि १५ लाखसम्म फाइदा हुने गरेको बताए । कुरिलो खेती एकपटक सुरु गरेपछि पाँचदेखि सात वर्षसम्म उत्पादन दिने उनले सुनाए ।

भित्री मधेस तथा तराईका जिल्लामा चैत, वैशाख, जेठ र असार महिनामा कुरिलोको राम्रो उत्पादन हुने गर्दछ । “कुरिलोले वर्षमा तीन महिना राम्रो उत्पादन दिन्छ”, विश्वराजले भने, “मङ्सिर, पुस र माघ महिनामा भने कुरिलोले उत्पादन दिन्न ।” मङ्सिरदेखि माघबाहेकका अन्य महिनामा भने सामान्यरूपमा कुरिलोले उत्पादन दिने विश्वराजको भनाइ छ ।

“कुरिलोको बजार मूल्य पनि राम्रो छ, कोभिडको समयमा थोककै रु ५०० प्रतिकिलोसम्म बिक्री भएको थियो”, विश्वराजले भने, “अहिले पनि थोकमै रु २५० प्रतिकिलोसम्म बिक्री हुने गरेको छ ।” उत्पादन राम्रो हुने समयमा दैनिक ५० देखि ८० किलोसम्म उत्पादन हुने गरेको विश्वराज बताउछन् । यहाँ उत्पादन हुने कुरिलोको मुख्य बजार काठमाडौँ हो । कुरिलो स्वास्थ्यका लागि लाभदायक भएको हुँदा उत्पादन भएकै ठाउँबाट सहजरूपमा बिक्री हुँदै आएको विश्वराजको भनाइ छ ।

वि.सं.२०७९ असार १७ शुक्रवार १३:३२ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...