back
CTIZAN AD

चीनले हङ्‌कङलाई दिएकाे २५ वर्ष पूरा, किन हुन छोड्यो विरोध प्रदर्शन ?

वि.सं.२०७९ असार १७ शुक्रवार

648 

shares

काठमाडाैं । शुक्रबार ब्रिटेनले हङ्‌कङ पुनः चीनलाई सुम्पेको २५ वर्ष पूरा भएको छ। यसै अवसरमा चिनियाँ राष्ट्रपति सी जिन्पिङले उक्त सहरको भ्रमण गर्दै छन्। सन् २०२० मा कोरोनाभाइरसको महामारी फैलिएपछि मुख्य भूमि चीन बाहिर यो उनको पहिलो यात्रा हो।

यसअघि उनी सन् २०१७ मा हङ्‌कङ फिर्ता पाउनुको २० औँ वार्षिकोत्सवको मनाउन त्यहाँ पुगेका थिए। वर्षगाँठ विशेष समारोहमा त्यहाँ विरोध प्रदर्शन हुने गर्थ्यो तर सन् २०२० मा सुरक्षा कानुन लागू भएदेखि असहमति जनाउने प्रदर्शनकारीहरू मौन छन्।

कस्ता छन् कार्यक्रमहरू ?

शुक्रवार सार्वजनिक बिदा दिइएको छ र सहरभरि विभिन्न आधिकारिक कार्यक्रमहरू आयोजना हुनेछन्। वर्षगाँठको सेरोफेरोमा हङ्‌कङमा ओमिक्रोन भेरिअन्टको प्रकोप देखिनुले सी जिन्पिङको भ्रमण रद्द हुन सक्ने अनुमान गरिएको थियो। तर उनी बिहीवार तीव्र गतिको रेलमार्फत हङ्‌कङ पुगे।

उनलाई निवर्तमान प्रमुख कार्यकारी अधिकारी क्यारी लामले स्वागत गरिन्। उनले राष्ट्रपतिलाई भेट्नु अघि आफ्नो कार्यालयको अन्तिम दिन कोभिड क्वारन्टीनमा बिताएकी थिइन्।

सीको भ्रमण तालिका सार्वजनिक गरिएको छैन। यद्यपि, विवरणहरूका अनुसार उनी रात बिताउनका लागि सीमा पार गरेर नजिकै रहेको शेन्जेन सहर पुगेका थिए। शुक्रवार उनी हङ्‌कङ फर्किने छन् र त्यहाँ उनले मन्तव्य दिने अपेक्षा गरिएको छ। शुक्रवार पूर्व सुरक्षा प्रमुख जोन लीले लामबाट प्रमुख कार्यकारीको पदभार ग्रहण गर्नेछन्।

छ वर्ष हङ्‌कङको नेतृत्व गरेकी लामको कार्यकाल अशान्तिपूर्ण रहेको ठानिन्छ। यस अवधिमा, बेइजिङको बढ्दो शक्तिले लगातार स्वतन्त्रतालाई खलल पुर्‍यायो र यसै विषयमा प्रजातन्त्र पक्षधरहरूले केही ठूला प्रदर्शनहरू गरे।

बेइजिङका कडा समर्थकका रूपमा चिनिएका जोन ली चुनावमार्फत निर्विरोध शीर्ष अधिकारी चुनिए। यस घटनाक्रमलाई विशेषगरी ती हङ्‌कङवासीहरूका लागि पीडादायी बिन्दु मानिन्छ जसले चीन बिस्तारै प्रक्रियालाई पूर्ण प्रजातान्त्रिक बनाउने वाचाबाट पछि हटेको बताएका छन्।

वार्षिकोत्सव अघि राज्य सञ्चालित सञ्चार माध्यम पीपल्स डेलीले हङ्‌कङप्रति सीको “गहिरो स्नेह”बारे एक रिपोर्ट प्रकाशित गर्‍यो। जसमा लेखिएको छ: “यस भूभागप्रति राष्ट्रपति सीको गहिरो भावना छ। उनी हङ्‌कङको अवस्थाबारे जानकार छन् र यसको समृद्धि र स्थिरताबारे चासो राख्छन्।”

ब्रिटिसबाट चिनियाँ शासनमा हस्तान्तरण

यस वर्षको वार्षिकोत्सव हङ्‌कङमा बेइजिङको पकड बलियो भएको अवस्थामा आयोजना हुँदैछ। त्यो पकड सम्भवतः सहरको कथित “शून्य कोभिड” रणनीति पालनामा झल्कन्छ। विश्वका प्राय देश खुला भए पनि हङ्‌कङ आर्थिक नोक्सानीका बाबजुद मुख्य भूमि चीनले सङ्क्रमण रोक्न जारी गरेको नीति पालनामा अडिग रह्यो।

विवादास्पद राष्ट्रिय सुरक्षा कानुन लागू भएको दुई वर्षमा हङ्‌कङका अधिकारीहरूले प्रजातन्त्रको समर्थनमा उक्त कानुनको विरोध गर्नेहरूमाथि कडा कारबाही गरिरहेका छन्। यस कानुनले असहमति, विद्रोह वा विदेशी सेनासँगको साँठगाँठलाई समर्थन गर्ने कुनै पनि गतिविधिलाई अपराधीकरण गर्छ र अधिकतम जन्मकैदको सजाय दिन्छ।

बेइजिङद्वारा अनुमोदित मानिसले मात्र त्यहाँको स्थानीय चुनावमा उम्मेदवारी दिन पाउँछन्। त्यहाँका थुप्रै प्रजातन्त्र पक्षधर सञ्चार माध्यमहरू बन्द भएका छन् र अभिव्यक्ति स्वतन्त्रतामा कटौती गरिएको छ। हङ्‌कङ सन् १९९७ मा ९९ वर्षपछि ब्रिटेनद्वारा चीनलाई फिर्ता गरिएको थियो। त्यस यता पचास वर्षसम्म स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका सुनिश्चित गर्ने ‘एक देश, दुई प्रणाली’ सम्झौता अन्तर्गत हङ्‌कङ चीनको अङ्ग रहिआएको छ।

तर आलोचकहरूले राष्ट्रिय सुरक्षा कानुनले हङ्‌कङको न्यायिक स्वायत्ततालाई घटाएर र अधिकारीहरूलाई प्रदर्शनलाई अङ्कुश लगाउने अनुमति दिएर त्यस सम्झौता विपरीत कार्य गरेको बताएका छन्।

हालसालै दिएको एक अन्तर्वार्तामा हङ्‌कङका अन्तिम ब्रिटिस गभर्नर क्रिस प्याटनले यस सहरको रूपान्तरण “हृदय विदारक” भएको बताएका थिए।

“सन् १९९७ पछिको एक दशक वा त्यो भन्दा अलि लामो समयसम्म परिस्थिति धेरै खराब भएन। तर अवस्था खस्कँदै छ। किनभने सी जिन्पिङ र उनका सहकर्मीहरू हङ्‌कङ वास्तवमा के हो भन्नेबारे डराएका छन्,” उनले पत्रकार सम्मेलनमा भने ।

“हङ्‌कङ एक महान् सहर हो भन्ने मेरो विश्वास छ। मलाई आशा छ कि यो फेरि एक महान् सहर हुनेछ।” बीबीसीबाट

वि.सं.२०७९ असार १७ शुक्रवार १४:१८ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...