काठमाडौं । रन्जु दर्शनाले काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
दर्शनाले शनिबार काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
‘तपाईहरूले विभिन्न माध्यमबाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ दर्शनाले सामाजिक संजालमा लेखेकी छन्,‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।’
क्षेत्र नं ५ बाट डा. बाबुराम भट्टराईकी छोरी मानुषि यमि भट्टराई पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने बताउदै आएकी छन् ।
विवेकशील साझा पार्टी पूर्व नेतृ समेत रहेकी दर्शनाले २०७४ सालको स्थानीयतहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएकी थिइन् । उक्त निर्वाचनमा उनी मेयर पदमा पराजित भएपनि लोकप्रिय मतसहित तेस्रो नम्बरमा आएकी थिइन् । उक्त निर्वाचनमा दर्शनाले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन् ।
काठमाडौं क्षेत्र नं ५ बाट २०७४ सालको निर्वाचनमा एमालेका नेता ईश्वर पोखरेल विजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रकाशसरण महतलाई झण्डै १० हजार मतले हराएका थिए भने विवेकशील साझाका उम्मेदवार रहेका उज्जवल थापाले ६ हजार ८५३ मत प्राप्त गरेका थिए ।
वि.सं.२०७९ असार १९ आइतवार ०८:५७ मा प्रकाशित






























