काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका बाबुराम भट्टराई माओवादी केन्द्र फर्किन तयार देखिएका छन् । उनी केही सर्तसहित माओवादी फर्किन तयार रहेको बुझिएको छ । भट्टराईले मुख्य सर्तको रुपमा माओवादी केन्द्रको नाम परिवर्तनको प्रस्ताव गरेका छन् ।
प्रचण्ड निकट एक नेताले बताएअनुसार हात्तीवनस्थित प्रचण्डका भान्जाको निवासमा भएको पछिल्लो छलफलमा भट्टराईले पार्टीको नाम फेर्ने सर्तमा फर्किन सहमत भएका हुन् । तर, भट्टराईले पार्टी कम्युनिष्ट धारको हुने वा नहुने भन्नेमा भने निर्णय लिएका छैनन् ।
प्रचण्डले यसअघि नै समाजवादी केन्द्र बनाउने गरि एकीकृत समाजवादीका नेताहरुसँग पनि छलफल गरेका थिए । प्रचण्ड सहमति जुटेमा माओवादी केन्द्र, एकीकृत समाजवादी, बामदेव गौतम र भट्टराई पक्षलाई समेटेर समाजवादी केन्द्र निर्माण गर्न सकिने सोंचमा छन् ।
तर, माओवादी केन्द्रभित्र भने पार्टी कै नाम परिवर्तनको विषयमा भने सहमति जुटिसकेको छैन । माओवादी केन्द्रभित्र पार्टी एकताभन्दा मोर्चा बनाएर अगाडि जानुपर्ने मत बलियो छ ।
तर, बाबुराम समूहभित्रै विभाजन
जसपाबाट अलग्गिन तयार रहेको भट्टराई नेतृत्वको समूहभित्रै भने विभाजन देखिएको छ । भट्टराई नेतृत्वको समूहको ठूलो पंक्ति निःशर्तरूपमै माओवादी केन्द्र फर्किनुपर्ने सोंचमा देखिएका छन् । भट्टराईकै सहयोगीका रुपमा चिनिएका नेता विश्वदीप पाण्डे माओवादी केन्द्रमा यथास्थितिमै फर्किनुपर्ने अडानमा छन् । बताइएअनुसार निःशर्त फर्किनुपर्ने अडानमा ठूलो पंक्ति छ ।
यता, भट्टराईको पछाडि देखिएको गंगानारायण श्रेष्ठलगायतको समूह भने माओवादी केन्द्रभन्दा एमालेमा फर्किनुपर्ने सोंचमा देखिएका छन् । उनीहरुको पंक्ति बेग्लै पार्टी बनाउने अवस्थामा भने सहकार्यका लागि तयार देखिएका छन् ।
वि.सं.२०७९ साउन ५ बिहीवार १६:०० मा प्रकाशित






























