काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकसहित समर अफर ल्याएको छ । कम्पनीले साउन १ देखि लागु हुने गरि समर अफर ल्याएको हो । कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको हो ।
कम्पनीका अनुसार अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ । २० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि रु. ४९ मा उपलब्ध छ । त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि रु. ४९ मा उपलब्ध छ ।
यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि रु. १५, २०० एसएमएस ३ दिनको लागि रु. २९ र ३०० एसएमएस २८ दिनको लागि रु. ९८ मा पठाउन सकिने छ ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको र सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।
पहिले उपलब्ध अधिकांश अफरहरुलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको र कतिपय अफरलाई परिमार्जन गरिएको कम्पनीले जनाएको छ । समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गर्नुपर्ने छ ।
कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
वि.सं.२०७९ साउन ५ बिहीवार १७:२१ मा प्रकाशित






























