काठमाडौं । मुलुकको अर्थतन्त्रका लागि क्रिप्टोकरेन्सी चुनौतिपूर्ण बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रका लागि क्रिप्टोकरेन्सी चुनौतिपूर्ण बन्दै गएको जनाएको छ ।
बैंकहरुको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै क्रिप्टोकरेन्सी कारोबार चुनौतिपूर्ण रहेको उल्लेख गरेको हो ।
क्रिप्टो मुद्रा विश्वव्यापी वित्तीयको लागि एक प्रमुख चुनौतिका रुपमा विकसित भएको, विश्व अर्थतन्त्रमा यसको प्रभाव ठूलो रहेको र नेपालमा क्रिप्टो मुद्राको कारोवार गैरकानूनी भए पनि कारोबार भएको नेपाल राष्ट्र बैंकले फ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । क्रिप्टोकरेन्सीको कारोबारलाई रोक्न आवश्यक पहल गर्नुपर्ने बताइएको छ ।
क्रिप्टोकरेन्सीको कारोबारले ठगी र कर छली पनि बढेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा साइबर क्राइमका घटनाहरु पनि बढेको कुरालाई प्रतिवेदनमा औंल्याइएको छ । नयाँ प्रविधिको विकास र प्रयोगसँगै साइबर सेक्युरिटीमाथि जोखिम बढेको उल्लेख गर्दै राष्ट्र बैंकले पछिल्लो समय एटीएम ह्याकिङ, बैंक ह्याकिङ लगायतका घटनाहरु बढेको जनाएको छ ।
पछिल्लो समयमा नेपाल प्रहरीले पनि क्रिप्टो मुद्राको गैरकानुनी कारोबार गर्नेहरुलाई आफ्नो मुख्य निशानामा पारेको छ ।
सेयर मार्केटकै रुपमा क्रिप्टोको अनलाइन कारोबार गरेर छोटो समयमै मनग्य कमाउन पाइने आशामा नयाँ पुस्ताका धेरै मानिसहरु क्रिप्टोको कारोबारमा आकर्शित हुँदै गएको देखिन्छ । अवैधानिक रुपमा क्रिप्टो कारोबारीहरु बढ्दा उनीहरु प्रहरीको ‘टार्गेट’मा परेका हुन् ।
राष्ट्र बैंकले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्नेहरुलाई निगरानी गर्नु पर्ने जनाएको छ । नेपालमा मात्रै नभएर विश्वका थुप्रै मुलुकमा क्रिप्टो मुद्राको कारोबारलाई गैरकानूनी रुपमा लिइन्छ ।
नेपाल राष्ट्र बैंक, नेपाल दुरसंचार प्राधिकरण, नेपाल बैंकर्स संघ, भुक्तानी प्रदायक संस्था लगायतले सूचना नै जारी गरेर क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन दिइसकेका छन् । साथै केन्द्रीय बैंक लगायत विभिन्न निकायहरुले क्रिप्टोकरेन्सी (बिटक्वाइन), हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिइसकेका छन् ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिनुपर्ने उल्लेख हुन्छ । तर, विदेशी मुद्राको विनिमयको सन्दर्भमा पनि क्रिप्टोकरेन्सीको कारोबारको लागि सटही सुविधा प्राप्त गर्न सकिँदैन ।
गैर कानूनी रुपमा विदेशी विनिमयसँग सम्बन्धित कसुर गरेमा बिगो रकम एक करोड रुपैयाँ वा सो भन्दा बढी भए त्यस्ता व्यक्तिलाई अन्य सजायका अतिरिक्त तीन वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्था कानूनमा रहेको छ ।
त्यस्तै इजाजतप्राप्त व्यक्तिले बैंकको आदेश पालना नगरे उसलाई नसिहत दिन, कारोबारमा प्रतिबन्ध लगाउन, धरौटी वा जमानत जफत गर्न र इज्जाजतपत्र रद्द गर्न सकिने व्यवस्था रहेको छ । उक्त ऐनसँग जोडिएका कसुरसँग सम्बन्धित विदेशी विनियमलाई जफत गर्ने साथै बिगो बमोजिमको जरिवाना गर्ने र त्यसमा तीन गुणासम्म जरिवाना गराउन सकिने कुरा कानूनमा व्यवस्था रहेको छ ।
वि.सं.२०७९ साउन १२ बिहीवार ०७:५९ मा प्रकाशित






























