Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

छोराको जन्मदिनको अवसरमा स्व. श्रीमानलाई सम्झँदै डा शान्ति भूर्तेल नेपालको पत्र



समयलाई कोट्याउँदै जाने हो भने त्यो समयमा आफुले आफैलाई कसरी सम्हालेँ त खासै थाहा छैन, थाहा भएपनि त्यो रोदन, त्यो पिडा कसैलाई दिन चाहन्न, किनकि त्यो मेरो साहस बनेर उभिएको भएको छ । कहिले काहिँ यो मन विचलित हुन खोज्दा हाम्रा दुई खम्बाहरुले मलाई विचलित हुन दिएका छैनन् न प्यारा । हजुरले टाढा अझै भनौ हामी भन्दा धेरै टाढाबाट दिनुभएको आशीर्वाद, हजुरले दिनुभएको मार्गनिर्देशन अनि टाढै भएपनी हजुरको साथ, म कत्ति पनि विचलित भएको छैन ।

विगतको कुरा पल्टाएर मलाई कसैको पनि ‘बिचरा’ को पात्र, अथवा भनौं, ‘शान्ति ! अब पुराना कुरा बिर्सीदेउ या शान्ति अब तिमी बलियो हुनुपर्छ’ भन्ने कुरा मेरो मन मस्तिष्कले त्यसलाई सही रुपले हेर्दैन । किनभने जिन्दगीको बाटो हिँड्दै गर्दा, कहिले फुलै-फुलको बाटो हिँड्दा ‘फुलमा हिडी’ भनेर डाहा गर्नेको लर्को यो बजारमा प्रशस्तै छ अनि जीवनको बाटोमा काँडै काँडाको बिचमा हिड्दा अगाडिबाट छ्या गरेजस्तो अनि पछाडीबाट मनै खुशी भएको पनि म नै बस्ने शहरमा देखेँ ।

आजसम्म भगवानलाई देखेको त छैन, तर हरेक दिन महसुस गर्न पाउँदा पनि छुट्टै आनन्द हुने रहेछ । भनिन्छ नि, जन्मेको छैटीमा भावीले भाग्य लेखिदिन्छ । भावीले, मेरो भाग्यमा के-के लेखिदिनुभयो ? त्यो त जीवन बाँच्दै गर्दा स्मरण गरौँला, महशुस गरौँला तर एउटा कुरा भने पक्कै लेखि दिनुभयो, “शान्ति ! तिमी जस्तोसुकै परिस्थितिमा कहिले-कहिबाट हरेश नखानु, तिमी साहसिलो महिला बन्नुपर्छ ।’

भावीको हरेक कुरालाई सम्मान गर्दै जति कठिन परिस्थितिमा पनि आफूबाट आफूलाई कहिल्यै विचलित हुन दिएको छैन । चाहे, खान नपाउँदा होस् या आफ्नो शिरको स्वामीलाई सधैका लागि बिदा गर्दा होस् । समयलाई कोट्याउँदै जाने हो भने त्यो समयमा आफुले आफैलाई कसरी सम्हालेँ त खासै थाहा छैन, थाहा भएपनि त्यो रोदन, त्यो पिडा कसैलाई दिन चाहन्न, किनकि त्यो मेरो साहस बनेर उभिएको भएको छ ।

कहिले काहिँ यो मन विचलित हुन खोज्दा हाम्रा दुई खम्बाहरुले मलाई विचलित हुन दिएका छैनन् न प्यारा । हजुरले टाढा अझै भनौ हामी भन्दा धेरै टाढाबाट दिनुभएको आशीर्वाद, हजुरले दिनुभएको मार्गनिर्देशन अनि टाढै भएपनी हजुरको साथ, म कत्ति पनि विचलित भएको छैन ।

प्यारो आरभ/आरभीको बाबा,
भौतिक रुपले हजुरले छोडेर गए पश्चात जीवन अलग्गै भएको छ, सोचेभन्दा धेरै फरक । हजारौ बिरामीहरूको प्रश्नको उत्तर दिनसक्ने म, आफ्नै कलिला बालबच्चालाई उत्तर दिन भने आजका दिनसम्म पनि मैले सकेको छैन । समाजमा भएका कैयौं रोगहरुलाई निको पार्न सक्ने म, समाजमा भएको विधुवाप्रतिको कठिन रोगलाई निको पार्न सकेको छैन । मानिसहरूले गर्ने व्यवहारलाई सुधार गर्न सकेको छैन । जन्म, मृत्यु निश्चित हुँदाहुँदै पनि मानिसको कुबिचारलाई आजको दिनसम्म सुधार गर्न सकेको छैन ।

विश्वमा ठूला ठूला विकास भएका छन् । तर मानिसको सोच परिवर्तन नभएको कारणले गर्दा हाम्रो देश विकासको गति अत्यन्तै सुस्त छ । देश विकासलाई रफ्तारमा लैजाने हो भने यहाँ शिक्षा मात्र आवश्यक छैन, शिक्षा, सोच, संस्कारलाई सँगसंगै हिडाउन जरुरी छ । पहिला जस्तो महिलालाई कसैले सिधा सिधा हिँसा गर्न कम त भएको छ तर सोच परिवर्तन नभएको कारणले गर्दा महिलाहरूले आजका दिनसम्म पनि कार्यालयमा होस् या घरमा विभिन्न यातनाहरू सहनुपरेको छ । जति ठूलो पदमा जागिर खाएपनि महिला सहपाठीहरू आफ्नै कार्यालयका स्टाफहरुबाट महिला हिंसा सहिरहेका हुन्छन् । बाबा, धेरै कुरा त माग्न सक्दिन, तर महिला हिंसा कोहि पनि दिदीबहिनीले झेल्नु नपरोस् । यसका लागि देशका नियमहरु कडा गरियोस् । महिलाका लागि आवाज उठाउन । छोरीहरुले महिलावादको नारा उचाल्नु भन्दा पनि हातमा हात मिलाएर देश विकास गर्न सकुन् । बाबा, हजुरले देख्नुभएको सपना, हजुरले कल्पना गर्नुभएको सोचले ममा अझ धेरै हिम्मत आएको छ, अझ धेरै आत्मबल बढेर आएको छ ।

लेखिका शान्ति भूर्तेलको छोरा आरभ नेपाल, जसको आज जन्मदिन हो ।

औपचारिक शिक्षाले‌‌ मात्र मान्छे शिक्षित हुदो रहेनछ, बाबा । पुरुष‌ प्रधान समाज भएर होला कि निश्चय नै मेरो ठाउँमा वा पदमा‌ पुरुष हुदा र महिला भएकै कारण गरिने व्यवहार फरक छ। जिम्मेवार पदमा बसेका मान्छेले उहाँहरुको स्वार्थ अनुसार काम नगर्दा लगाइने लान्छना झन गार्हो छ। कतै घमन्डी, कतै कसैसँग नमिल्ने नाना थरि। भिडभाडमा वा फोटो खिच्ने बहानामा हातले सुम्सुम्याउने देखि राती मेसेज गर्ने गर्दछन् । सामाजिक संन्जालमा‌ हेर्दा भद्र पुरुष जस्तो लाग्नेको व्यवहार शुरु सुरुमा अचम्म र पछिपछि सहनै नसकिने र कसरी प्रतिकार गर्ने खालका हुन्छन् । तर डा. सुधा शर्माको भोगाइ ‘सिंहदरबारको घुम्ने मेचमाथि’ पढे पछिआफ्ना अनुभव साट्ने गर्नु पर्छ र यसले सकरात्मक परिवर्तन ल्याउन सक्छ ‌भन्ने भयो। पहिला मैंले आफुले मात्र भोगेको जस्तो लागे नि कुरा गर्न थाले पछि प्राय धेरैका यस्तै अनुभव रहेछन् भन्ने भो र निस्चय नै हाम्रा बहिनि र छोरीलाइ यस्ता कुरामा ध्यान दिनु पर्ने हुन्छ । उनिहरूको स्वार्थ अनुसार नगर्दा लगाइने लान्छना त्यस्तै हो, जहा पनि ।

बाबासँग टीका थाप्दै आरभ

आत्मसम्मान र आफ्नै चरित्र जोगाएर काम गर्न अझै पनि गार्हो छ । मासु खाने, रक्सी खाने, गफ‌ चुट्नेको संसार अलग्गै हुने रहेछ म न मासु खाने, न रक्सी, न चिया, न चिसो, समय पाए बरु किताब पढ्ने गर्दछु । बास्तवमा किताब जति राम्रो साथी केहि हुदो‌ रहेनछ। उस्ले दिने मात्र म बाट लिने केहि छैन। हजुर गएपछि मेरो साथी नै किताबहरु नै भएका छन् र ति मलाइ अति प्रिय छन् । मिल्ने भए विकासको मनोविज्ञहरु एक मानिसको मनको पोको पाठेघरमा रोपी दिने थिएँ, जुन बढ्दै गएर एकैरातमा जन्मियोस् अनि त्यो सन्तानको नाम हुन्थ्यो, विकास । त्यहाँ देश विकास र मस्तिष्क विकास दुवै होस ।

आज साउन १६, बाबा हाम्रो खुशीको दिन, हाम्रो छोराले यस धर्तीमा जन्म लिएको दिन । हजुरलाई भौतिक रुपले सधैंका लागि अलबिदा गरेपनि हजुरको जीवित आत्माले सधैभरी छोरा आरभलाई आशिर्वाद दिनु है । हुर्किंदै गरेको छोरा अनि देशको अवस्था देखेर मनमा छुट्टै डर पलाउँदै जाने रहेछ । जन्मभूमी छोडेर वैदेशिक यात्रा गर्नेको संख्या दिनानुदिन बढेको बढ्यै छ । यही हालतमा युवाहरुले वैदेशिक यात्रालाई तय गर्दै लगेमा अबको केही वर्षमै देश सुनसान हुनेछ । तर म चाहन्छु हाम्रो छोरा आरभ र छोरी आरोभी मात्रै होइन, देशको कुनै छोराछोरीलाई पनि विदेश जान नपरोस् । देशमै दीर्घकालीन विकास होस्, परिवर्तनका लागि नयाँ सोचहरु जन्मुन । नयाँ विकासहरुले सधैंका लागि ठाउँ पावोस् । नयाँ सोच, परिवर्तित सोँचलाई काम गर्ने मौका मिलोस, अनि मात्र नेपाल आमा खुसी हुनेछिन् दुःख-सुखको भोगाई आफ्नै देशको कोखमा होस् ।

बाबुआमासँग आरभ

हत्तेरी, म त भावनामा डुब्न लागेको छु, खयर, हाम्री सानी आरभीले बाबा खै ! भन्दा निःशब्द हुँदा – हुँदै पनि ‘बाबा आउदै हुनुहुन्छ’ भन्ने कुरा भन्न म भन्न कहिल्यै छोड्दिन होला । किनभने हजुरको भौतिक शरीरमात्र हो टाढा भएको, हजुर हाम्रै वरिपरि हुनुहुन्छ । हजुर म भित्रै हुनुहुन्छ र त आरभ र आरभी दुवैलाई आमा अनि बाबाको कमि महशुस हुन दिएको छैन । मैले दिएको हरेक सुझावमा हजुरको आशिर्वाद मिसिएको हुँदा ती सुझावहरुले आरभ र आरभीलाई थप हौसला दिन्छ, अनि जीवन्त बनाइदिन्छ । हामीले गरेका हरेक काममा हजुरको आशिर्बाद मिसिएकोले होला हामीले गरेको काममा कहिले पछाडि फर्केर हेर्नुपरेको छैन । तर बाबा हजुर हुँदा गर्ने व्यवहार र हजुर गईसकेपछि समाजले गर्ने व्यवहारमा आकाशा पातालको फरक छ । घर परिवारमा त सबैको राम्रो व्यवहार नै छ । जागिरको शिलसिलामा भने आफ्नो आत्मसम्मान जोगाउन पनि हम्मे हम्मे छ । जतिसुकै पीडा भोग्न परेपनि म हाम्रो परिवारमा कहिल्यै हलचल आउन दिनेछैन । हजुरले कत्तिपनि पिर नगर्नु मेरो बाचा भयो । हाम्रा कुरामा सम्पूर्ण पितृहरू मिलेर हासी खुशी बस्नु हजुरहरु खुसी हुदा घर कोमल खुसी हुन्छ यो साथी, योमाया, यो प्रेरणा कहिले पनि नछुटोस् ।

धेरै माया, धेरै धेरै सम्झना
उहि हजुरकी शान्ति ।
मिति २०७९/०४/१६ गते ।

(वाणगंगा ११ कपिलवस्तु निवासी डा.शान्ति भुर्तेल नेपाल हाल मेसु रसुवा अस्पताल, धुन्चे्मा कार्यरत छिन् ।)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको