Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

मुख्य पेसाको रुपमा रहेको चौँरीपालन सङ्कटमा, व्यवसाय छाड्दै किसान



भोजपुर । भोजपुरको माथिल्लो भेगका किसानको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको हो ।

यहाँका किसानलाई अहिले मुख्यरूपमा चरन क्षेत्रको चिन्ता थपिएको छ । चौँरीका लागि खुल्ला चरन क्षेत्र आवश्यक पर्ने भए पनि घाँसे मैदान मासिँदै जाँदा पेसा पनि सङ्कटमा परेको किसानको भनाइ छ । सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको चौँरीपालन किसान प्रवीन राईले बताए ।

चौँरीलाई चरनका लागि प्रशस्त घाँसे मैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको किसान राईको भनाइ छ । “चाँैरीलाई धेरै चरन क्षेत्र चाहिन्छ”, किसान राईले भने, “अहिले हाम्रो क्षेत्रमा चरनको अभाव हुँदै गएको छ । चरन अभाव हुँदा व्यवसाय नै सङ्कटमा पर्ने अवस्था छ ।” व्यावसायिकरूपमा चौँरी पाल्दै आएका राईको गोठमा अहिले ३० ओटा चौँरी छन् । राईले वार्षिक चारदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए ।

“यो व्यवसायमा दुःख भए पनि आम्दानी राम्रै छ”, राईले भने, “वार्षिक चार, पाँच लाखसम्म आम्दानी गर्छु तर जनशक्ति तथा चरन क्षेत्रका कारण व्यवसायलाई बचाउन मुस्किल छ ।”

चौँरीको दूधबाट उत्पादित घ्यू, छुर्पी बाहिरी जिल्लासँगै कोसेलीका रूपमा देश तथा विदेशमा समेत जाने गरेको छ । उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने गर्दछ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईको भनाइ छ ।

नौनी घ्यू गोठबाट धार्नीको रु दुई हजार पाँच सयमा बिक्री हुँदै आएको गोठवाला डेन्डी शेर्पाले बताए । छुर्पी प्रतिकेजी रु आठ सयमा बिक्री हुने गरेको छ ।

चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्र पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञको भनाइ छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाच्छाबाच्छी चौँरी हुन् । त्यस्तै पहाडी गोरुसँग चौँरी गाईको प्रजनन भएर बसेको गर्भबाट चौँरी जन्मिन्छ । चौँरी गाई तथा याकलाई रिसाहा जनावरको रूपमा पनि लिने गरिन्छ । यिनीहरु आफ्ना बाच्छाबाच्छीलाई दुश्मनले हमला गरेरमा आक्रामक हुने गर्दछन् ।

यहाँको मैयुङडाँडा, सिलिचुङ, साउनेडाँडालगायतका माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुँदै आएको छ । किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि गाउँघरका खेतबारीमा झार्ने गर्दछन् । वर्षभरि लेकबेँसी गर्दै व्यवसाय गरिरहेको भए पनि सामुदायिक वनले चरीचरनमा रोक लगाएपछि व्यवसाय सञ्चालनमा समस्या हुने किसानको गुनासो छ ।

केही वर्ष अघिसम्म ५०÷६० ओटा गोठ रहेको भए पनि हाल आएर १०/११ मा सीमित भएको मैयुङडाँडामा चौँरी पाल्दै आएका किसान विमल राईले बताए । चरन अभावले धेरैले पितापुर्खाको पालाबाट गरिआएको पेसासमेत छाड्दै गएको राईको भनाइ छ । उनले भने, “चौँरीपालनमा मुख्यरूपमा चरन क्षेत्रको अभाव छ । यसलाई धेरै नै चरन क्षेत्र चाहिन्छ । अन्य गाईवस्तुभन्दा यसलाई बढी चरन क्षेत्रको आवश्यक पर्छ । एक दिनमा चौँरी सरदरमा १६ किलोमिटरको परिसर घुम्ने गर्छ ।”

सीमित ठाउँमा चराउँदा घाँसको अभाव तथा सहजरूपमा घुम्न नपाउँदा चौँरी नफस्टाउने समस्या हुने गरेको छ । चरन क्षेत्र र जनशक्तिको अभावले गोठमा धेरैले व्यवसाय छाडेको राईले बताए ।

मैदानसँगै चौँरीले मन पराउने मालिङ्गो तथा निगालो मासिन थालेको उनले बताए । “चौँरीलाई दुधालु घाँसको अभाव छ । चौँरीले असाध्यै मन पराउने मालिङ्गो घाँस(झाप्रो) मासिँदै गएको छ”, किसान राईले भने, “पहिला सजिलै पाइने यस्ता खालका वनस्पति विभिन्न रोगका कारण मासिएको अवस्था छ । यसले पनि व्यवसायमा असर पुगेको छ ।”

थोरै लगानी र आफूले मेहनत गरेर चौँरीबाट किसानले आम्दानी लिने गरेका छन् । सरकारले पनि गोठ सुधारमा सहयोग गरिरहेको छ । गोठ सुधार भए पनि चरन क्षेत्रको व्यवस्थापनमा पहल गरिदिनुपर्ने यहाँका किसानको माग छ । यहाँका अधिकांश किसानले आफ्नो गोठलाई सुधार गरिसकेका छन् तर, उनीहरु गोठ सुधारले मात्र पेसाको संरक्षण नहुने बताउँछन् । चौँरीका लागि चरन क्षेत्र खुल्ला गरिनुपर्ने चौँरीपालन व्यवसायी टेम्बा शेर्पाले बताए । “राज्यले गोठ सुधारका लागि सहयोग गर्यो । यसमा हामी खुसी छौँ”, शेर्पाले भने, “तर हाम्रो मुख्य समस्या चरन क्षेत्रको हो । चरनका कारण गोठ छोड्नुपर्ने अवस्था छ । चरन क्षेत्रका कारण चौँरी नै पाल्न नसक्ने अवस्था भएपछि गोठवालाले मात्र के गर्नु ? चरन क्षेत्रका लागि पनि राज्यले पहल गरिदिनु पर्यो ।”

राज्यले गोठवालाको उचित व्यवस्थापनमा सहयोग गर्नुपर्ने खर्क गोठ संरक्षण समितिका अध्यक्ष पाविहाङ राईले बताए । यस्ता पराम्परागत पेशाको संरक्षण गर्दै गोठवालाका समस्यालाई उजागर गर्न सबै जना सङ्गठित भएको उनकोे भनाइ छ । उच्च पहाडको शोभा बनेको चौँरी संरक्षणमा राज्यले चासो दिनुपर्ने अध्यक्ष राईको भनाइ छ । गोठवालाले प्रकृतिको संरक्षणमा योगदान गरिरहेको भए पनि उनीहरुमाथि चोरी सिकारी तथा वन फँडानी लगाएको झुटा आरोप लाग्ने गरेको राईको भनाइ छ ।

“गोठवाला पेसाको संरक्षण गर्न हामी एकजुट भएका छौँ”, अध्यक्ष राईले भने, “यो पेसा लोप हुने अवस्थामा पुगेको हुनाले सङ्गठित हुनुपर्ने अवस्था आयो । हामी सङ्गठित भएर आवाज उठाएपछि गोठ सुधारका लागि राज्यले पनि केही कामको थालनी गरेको छ । तर, हामी गोठवालाको जटिल समस्याका रूपमा चरन क्षेत्र नै हो । यसमा राज्यले ध्यान दिन आवश्यक छ ।” यहाँ निर्माण भएका गोठ पर्यटकलाई लक्षित गरेर गोठबासको अवधारणा अनुसार निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ । एउटा गोठमा कम्तीमा २० जना मानिस अट्ने गरी बनाइएको उनकोे भनाइ छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ