back
CTIZAN AD

मुख्य पेसाको रुपमा रहेको चौँरीपालन सङ्कटमा, व्यवसाय छाड्दै किसान

वि.सं.२०७९ साउन २४ मंगलवार

1.4K 

shares

भोजपुर । भोजपुरको माथिल्लो भेगका किसानको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको हो ।

यहाँका किसानलाई अहिले मुख्यरूपमा चरन क्षेत्रको चिन्ता थपिएको छ । चौँरीका लागि खुल्ला चरन क्षेत्र आवश्यक पर्ने भए पनि घाँसे मैदान मासिँदै जाँदा पेसा पनि सङ्कटमा परेको किसानको भनाइ छ । सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको चौँरीपालन किसान प्रवीन राईले बताए ।

चौँरीलाई चरनका लागि प्रशस्त घाँसे मैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको किसान राईको भनाइ छ । “चाँैरीलाई धेरै चरन क्षेत्र चाहिन्छ”, किसान राईले भने, “अहिले हाम्रो क्षेत्रमा चरनको अभाव हुँदै गएको छ । चरन अभाव हुँदा व्यवसाय नै सङ्कटमा पर्ने अवस्था छ ।” व्यावसायिकरूपमा चौँरी पाल्दै आएका राईको गोठमा अहिले ३० ओटा चौँरी छन् । राईले वार्षिक चारदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए ।

“यो व्यवसायमा दुःख भए पनि आम्दानी राम्रै छ”, राईले भने, “वार्षिक चार, पाँच लाखसम्म आम्दानी गर्छु तर जनशक्ति तथा चरन क्षेत्रका कारण व्यवसायलाई बचाउन मुस्किल छ ।”

चौँरीको दूधबाट उत्पादित घ्यू, छुर्पी बाहिरी जिल्लासँगै कोसेलीका रूपमा देश तथा विदेशमा समेत जाने गरेको छ । उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने गर्दछ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईको भनाइ छ ।

नौनी घ्यू गोठबाट धार्नीको रु दुई हजार पाँच सयमा बिक्री हुँदै आएको गोठवाला डेन्डी शेर्पाले बताए । छुर्पी प्रतिकेजी रु आठ सयमा बिक्री हुने गरेको छ ।

चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्र पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञको भनाइ छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाच्छाबाच्छी चौँरी हुन् । त्यस्तै पहाडी गोरुसँग चौँरी गाईको प्रजनन भएर बसेको गर्भबाट चौँरी जन्मिन्छ । चौँरी गाई तथा याकलाई रिसाहा जनावरको रूपमा पनि लिने गरिन्छ । यिनीहरु आफ्ना बाच्छाबाच्छीलाई दुश्मनले हमला गरेरमा आक्रामक हुने गर्दछन् ।

यहाँको मैयुङडाँडा, सिलिचुङ, साउनेडाँडालगायतका माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुँदै आएको छ । किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि गाउँघरका खेतबारीमा झार्ने गर्दछन् । वर्षभरि लेकबेँसी गर्दै व्यवसाय गरिरहेको भए पनि सामुदायिक वनले चरीचरनमा रोक लगाएपछि व्यवसाय सञ्चालनमा समस्या हुने किसानको गुनासो छ ।

केही वर्ष अघिसम्म ५०÷६० ओटा गोठ रहेको भए पनि हाल आएर १०/११ मा सीमित भएको मैयुङडाँडामा चौँरी पाल्दै आएका किसान विमल राईले बताए । चरन अभावले धेरैले पितापुर्खाको पालाबाट गरिआएको पेसासमेत छाड्दै गएको राईको भनाइ छ । उनले भने, “चौँरीपालनमा मुख्यरूपमा चरन क्षेत्रको अभाव छ । यसलाई धेरै नै चरन क्षेत्र चाहिन्छ । अन्य गाईवस्तुभन्दा यसलाई बढी चरन क्षेत्रको आवश्यक पर्छ । एक दिनमा चौँरी सरदरमा १६ किलोमिटरको परिसर घुम्ने गर्छ ।”

सीमित ठाउँमा चराउँदा घाँसको अभाव तथा सहजरूपमा घुम्न नपाउँदा चौँरी नफस्टाउने समस्या हुने गरेको छ । चरन क्षेत्र र जनशक्तिको अभावले गोठमा धेरैले व्यवसाय छाडेको राईले बताए ।

मैदानसँगै चौँरीले मन पराउने मालिङ्गो तथा निगालो मासिन थालेको उनले बताए । “चौँरीलाई दुधालु घाँसको अभाव छ । चौँरीले असाध्यै मन पराउने मालिङ्गो घाँस(झाप्रो) मासिँदै गएको छ”, किसान राईले भने, “पहिला सजिलै पाइने यस्ता खालका वनस्पति विभिन्न रोगका कारण मासिएको अवस्था छ । यसले पनि व्यवसायमा असर पुगेको छ ।”

थोरै लगानी र आफूले मेहनत गरेर चौँरीबाट किसानले आम्दानी लिने गरेका छन् । सरकारले पनि गोठ सुधारमा सहयोग गरिरहेको छ । गोठ सुधार भए पनि चरन क्षेत्रको व्यवस्थापनमा पहल गरिदिनुपर्ने यहाँका किसानको माग छ । यहाँका अधिकांश किसानले आफ्नो गोठलाई सुधार गरिसकेका छन् तर, उनीहरु गोठ सुधारले मात्र पेसाको संरक्षण नहुने बताउँछन् । चौँरीका लागि चरन क्षेत्र खुल्ला गरिनुपर्ने चौँरीपालन व्यवसायी टेम्बा शेर्पाले बताए । “राज्यले गोठ सुधारका लागि सहयोग गर्यो । यसमा हामी खुसी छौँ”, शेर्पाले भने, “तर हाम्रो मुख्य समस्या चरन क्षेत्रको हो । चरनका कारण गोठ छोड्नुपर्ने अवस्था छ । चरन क्षेत्रका कारण चौँरी नै पाल्न नसक्ने अवस्था भएपछि गोठवालाले मात्र के गर्नु ? चरन क्षेत्रका लागि पनि राज्यले पहल गरिदिनु पर्यो ।”

राज्यले गोठवालाको उचित व्यवस्थापनमा सहयोग गर्नुपर्ने खर्क गोठ संरक्षण समितिका अध्यक्ष पाविहाङ राईले बताए । यस्ता पराम्परागत पेशाको संरक्षण गर्दै गोठवालाका समस्यालाई उजागर गर्न सबै जना सङ्गठित भएको उनकोे भनाइ छ । उच्च पहाडको शोभा बनेको चौँरी संरक्षणमा राज्यले चासो दिनुपर्ने अध्यक्ष राईको भनाइ छ । गोठवालाले प्रकृतिको संरक्षणमा योगदान गरिरहेको भए पनि उनीहरुमाथि चोरी सिकारी तथा वन फँडानी लगाएको झुटा आरोप लाग्ने गरेको राईको भनाइ छ ।

“गोठवाला पेसाको संरक्षण गर्न हामी एकजुट भएका छौँ”, अध्यक्ष राईले भने, “यो पेसा लोप हुने अवस्थामा पुगेको हुनाले सङ्गठित हुनुपर्ने अवस्था आयो । हामी सङ्गठित भएर आवाज उठाएपछि गोठ सुधारका लागि राज्यले पनि केही कामको थालनी गरेको छ । तर, हामी गोठवालाको जटिल समस्याका रूपमा चरन क्षेत्र नै हो । यसमा राज्यले ध्यान दिन आवश्यक छ ।” यहाँ निर्माण भएका गोठ पर्यटकलाई लक्षित गरेर गोठबासको अवधारणा अनुसार निर्माण गरिएको अध्यक्ष राईको भनाइ छ । एउटा गोठमा कम्तीमा २० जना मानिस अट्ने गरी बनाइएको उनकोे भनाइ छ ।

 

वि.सं.२०७९ साउन २४ मंगलवार १७:१२ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...