काठमाडौं । ग्लोबल आइएमइ बैंकले एनआरएनको लागि संचालन गर्दै आएको डलर खाताको ब्याज बढाएको छ । बैंकले डलर खाताको बचत र मुद्धति खातामा १.५ प्रतिशतले ब्याज बढाएको हो ।
बैंकको अनुसार बचत खातामा ४.५ प्रतिशत र मुद्दती खातामा ५.५ प्रतिशत ब्याज कायम गरिएको छ । यसअघि बैंकले बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ४ प्रतिशत ब्याज दिंदै आएको थियो ।
बैंकले गैर आवासीय नेपाली (एनआरएन) का लागि नेपाली बैंकमा डलर खाता खोल्न नेपाल सरकारले अनुमति दिएपछि यस्तो सुविधा दिएको जनाएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ खाता खोल्न र विदेशी रकम जम्मा गर्दा दिइने ब्याजदरमा वृद्धि गरेको बेलायतस्थित ग्लोबल बैंकको सम्पर्क कार्यालयका प्रमुख प्रतिनिधि अमित चालिसेले बताए ।
बैंकले भिडियो कल (भिडियो केवाइसी) को माध्यमबाट घरमै बसेर सहज रुपमा डलर खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकको अनुसार बैंकको वेवसाइटमा गएर नयाँ खाता खोल्न अनलाइन फारम भरेर आवश्यक कागजपत्र अपलोड गरेपछि बैंकका कर्मचारीसंग भिडियो कलमार्फत सम्पूर्ण प्रमाणीकरण गरिनेछ । अनलाइन खाता खोल्नेवित्तिकै डेबिट कार्ड, इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ तथा डिम्याट÷मेरो शेयर लगायत सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।
वि.सं.२०७९ भदौ ९ बिहीवार २१:२७ मा प्रकाशित





























