
काठमाडौं । नविकरण गरेर पुनः सञ्चालन अनुमति लिएको महिना दिन नपुग्दै काठमाडौं महानगरपालिकाले वल्र्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ् बोर्ड बन्द गराएको छ । महानगरपालिकाले जारी गरेको विज्ञापन कर निर्देशिका, २०७४ अनुसार दर्ता गरी सञ्चालनमा रहेको बोर्ड महानगरपालिकाले नै बन्द गराएको हो ।
डिजिटल बोर्ड बन्द गर्नुको कारण महानगरपालिकाले दुर्घटना बढेको बताएको छ । साथै, स्वीकृत मापदण्डअनुसार वल्र्ड टे«ड सेन्टरको बोर्ड नभएको पनि जिकिर गरेको छ ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ्ग बोर्ड राख्न पाइन्छ । तर, एस. टि. आर. एडभरटिजमेन्ट प्रा.लि.ले वर्ल्ड ट्रेड सेन्टरले राखेको बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको छ । पाण्डेका अनुसार मुख्य सडकको भवनमा रहेको ठूलो डिजिटल बोर्डले सवारी चालकको ध्यान भंग हुने र दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ ।
हाल विभिन्न एड्भरटाइजिङ्ग कम्पनीहरुले काठमाडौंको त्रिपुरेश्वर, सुन्धारा, दरबार मार्गलगायतका दर्जनौं ठाउँमा डिजिटल होर्डिङ्बोर्डहरु राखेर व्यवसाय गरिरहेका छन् ।
महानगरको विवादित भूमिका
काठमाडौं महानगरसँग अनुमति लिएर नै एस. टि. आर. एडभरटिजमेन्ट प्रा.लि.ले वल्र्ड ट्रेड सेन्टरमा डिजिटल बोर्ड राखेको थियो । महानगरपालिकाले जारी गरेको विज्ञापन कर निर्देशिका, २०७४ अनुसार दर्ता गरी राजस्व तिरी उक्त बोर्ड सञ्चालनमा ल्याइएको थियो । उक्त बोर्ड सञ्चालनमा ल्याउँदा महानगरपालिकाले समेत अनुगमन गरेको थियो ।
तर, आफैंले बोर्ड राख्न अनुमति दिने महानगरले नै बोर्ड हटाउनु नियमसंगत देखिन्न । महानगरकै एक सदस्यले बताएअनुसार महानगरको भूमिका बोर्ड हटाउँदा विवादास्पद छ ।
“महानगर आफैंले अनुमति दिएर बोर्ड राखेको हो, बोर्डको राजश्व पनि महानगरले लिइरहेको छ”, महानगरका एक सदस्यले भनेका छन्, “तर, अचानक नियम संगत भएन भनेर हटाउनु गलत छ, यसमा महानगरकै पनि कमजोरी देखिन्छ, जसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्छ ।”

नेतृत्व मैदानमा उत्रिएपछि कर्मचारीहरु त्रसित
अहिले काठमाडौं महानगरपालिकाको नेतृत्व अवैध संरचनाहरु हटाउने निर्णयसहित मैदानमा उत्रिएको छ । महानगरपालिकाको नेतृत्वले पार्किङ्गलाई लागि अनुमति दिएका भवनका संरचनादेखि सबवेसम्मका अनधिकृत संरचनालाई हटाएको छ । महानगरपालिकाको यो अभियानमा कतिपय ठाउँमा भने त्रुटि देखिन्छ ।
बेसमेन्टमै यसअघि पसल सञ्चालन गर्न अनुमति दिने र राजश्व उठाउने अनि आफैंले हटाउने काम नियमसंगत देखिन्न । तर, नियमसंगत नहुँदा नहुँदै पनि नेतृत्वको निर्णयप्रति कर्मचारीहरुले विरोध गर्न सकेका छैनन् । महानगरभित्र हुने व्यथितिलाई कर्मचारीले विरोध भन्दा सघाउने गरेका छन् ।
सम्बन्धित समाचार
महानगरकाे ध्यान होर्डिङ बोर्ड तिर, वर्ल्ड ट्रेड सेन्टरकाे डिजिटल होर्डिङ बोर्ड बन्द