काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले दावी गरेको ६० सिट वरिपरी नै गठबन्धनबीच सहमति हुने बताएका छन् ।
धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सिट बाँडफाँटका विषयमा आज बेलुकासम्म सहमति हुने गरी काम गर्न कार्य दललाई जिम्मेवारी दिएको बताए ।
‘आज बेलुकासम्म त्यसको टुंगो लाग्ने छ र भोली हामी शिर्ष नेताहरु बसेर त्यसलाई अन्तिम रुप दिनेछौं । गठबन्धन तथा तालमेल भएर जाने विषयमा अन्तिम तयारी चलिरहेको छ ।’अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले सिट बाँडफाँटका विषयमा सबै दलभित्र आ–आफ्नै दावी रहेपनि अन्तिममा मिलाउनै पर्ने बताए ।
‘नेपाली कांग्रेसले १०० भने पनि ८० को वरिपरी आउने सम्भावना बढ्दोछ । हामीले पनि ६० भनेका छौंै । ६० बाट केही तलमाथि होला तर त्यसैको वरिपरी हुन्छ भन्ने हाम्रो विश्वास छ ।’ प्रचण्डले भने ।
त्यसैगरी समाजवादी पार्टी र जनता समाजवादी पार्टीले २५/२५ को वरिपरी दावी गरिरहेकोले यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने र सुझाव दिने बताए । प्रचण्डले मिलेको जति मिलाउने मिल्न बाँकी रहेको शिर्ष तहमा बसेर टुंग्याउने निर्णय भएको समेत बताए ।
वि.सं.२०७९ भदौ २१ मंगलवार १२:५८ मा प्रकाशित

























