काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा धराने जनतालाई मनग्य पानी खुवाउनु अर्थात् धरानका धारामा पानी झार्ने मुख्य मुद्दा लिएर निर्वाचनमा होमिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्ततः धराने जनताको मनग्य पानी पिउने वर्षौदेखिको सपना पूरा गर्ने यात्रामा लागेका छन् ।
सोमबार धरान १३ को जानकी चोकमा ठूलो पाइपबाट खानेपानीको फोहोरा झारेपछि मेयर हर्कले स्थानीयसँगै रमाउँदै सोहि पानीले नुहाएका छन् ।
‘काकाकुल’ धराने जनताको मनग्य पानी खाने सपना पूरा हुन लागेकोमा मेयर साम्पाङले खुसी व्यक्त गर्दै पानीको फोहोरामा स्थानीयसँगै नुहाएको भिडियो पोस्ट गरेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ । सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उनले सामाजिक संजालमा लेखेका छन् ।
मेयर हुनुभन्दा अगावै झण्डै १० वर्षदेखि धराने जनताको खानेपानी लगायतका विभिन्न समस्यामा एक्लै आवाज उठाउँदै आएका साम्पाङले मेयरमा निर्वाचित भएपछि उक्त खानेपानी अभियानमा त्यहाँका स्थानीय तथा युवाहरुलाई श्रमदानमा समेत लगाएका थिए । उनीहरुसँगै आफै पाइप जोड्न र ढुंगा फोरेर पानी ल्याउन अथक प्रयास गरेका मेयर साम्पाङले आफु निर्वाचित हुनु अगावै पनि ‘पानी देउ’ दवाव समूह बनाएर धरानका जनप्रतिनिधिहरुसँग पुग्ने अभियान संचालन गरेका थिए ।
वि.सं.२०७९ भदौ २८ मंगलवार १३:१५ मा प्रकाशित






























