मेरा सहृदयी भाई देवेन्द्र पौडेलको दुःखद निधन भएको खबर निलकण्ठजीले सुनाउनु भएपछि म एकछिन हतप्रभ भए । मैले देवेन्द्रको जीवनलीला सिद्धिएछ भनेर मेरी श्रीमती सावित्री भट्टराईलाई भन्दा उनी पनि त्यस्तै भइन् । तर, खबर यथार्थ हुन पुग्यो । जब म आफै अन्तिम श्रद्धान्जलीका लागी विद्युतीय शवदाहगृह पशुपतिमा पुगेर माल्यार्पण गर्न पुगेँ, उनको अझै पनि बोली हाल्लान की जस्तो अनुहारले मलाई नजिकै लग्यो पनि । तर, किन आउँथे र उनी, सदाका लागी बिदा हुने कठोर निर्णयका साथ हामीसँग भाग्नै खोजेका रहेछन् ।
घाटमा उपस्थित डिलाराम आचार्य, निलकण्ठ तिवारी, माधव घिमिरे, गिरेन्द्र अधिकारी, डा. चन्द्रकान्त पौडेललगायतका माओवादीका नेता, कार्यकर्ता र अन्य लम्जुगे प्रबुद्ध व्यक्तिहरु तथा अष्ट ज अभियन्ताहरुका बिच मैले पनि उनलाई माला लगाएर त फर्के तर, यतिले मेरो मन थामिएन । उनका बारे केही नबोल्दा र नलेख्दा अन्याय हुने ठाने ।
तत्कालीन नेकपा (माओवादी)ले नेपालमा नयाँ जनवादी क्रान्ति गरेर मजदुर किसानको सत्ता स्थापना गर्न भनेर २०५२ सालमा शसस्त्र संघर्षको सुत्रापात गर्यो, त्यो संघर्षमा विस्तारै नेपालका बाम बुद्दिजीवी तथा युवाहरु आकर्षित हुँदै गए । त्यसमा पनि २००६ सालको नेपाल कम्युनिष्ट पार्टीको क. पुष्पलालले ड्राफ्ट गरेको गरिब तथा सर्वहारा मजदुर किसानको राजनैतिक आर्थिक, सांस्कृतिक तथा शैक्षिक अधिकार अर्को शब्दमा भन्दा नेपालीको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार पूरा गर्ने घोषणापत्र पूरा गर्ने कसम खाएको अर्को बाम दल नेकपा एमाले–दक्षिण पन्थी, संसदवादी भासमा डुबेर साम्राज्यवाद, विस्तारवादसमेतको पछि लाग्न थालेपछि त्यससँग सम्बन्धित असंख्य युवा तथा बुद्दिजीवी तथा स्वतन्त्र वाम बुद्दिजीवीहरु माओवादीतर्फ आकर्षित भए । त्यही सिलसिलामा लमजुङ जिल्लामा शिक्षण पेशा गरेका पौडेल पनि सो पार्टीको पूर्णकालिन नेता भए । भूमिगतरूपमा उनले त्यस क्षेत्रमा किसान–मजदुर तथा गरिव सर्वहाराको पक्षमा काम गर्दा नै लोकप्रिय भएका थिए । मेरो परिचय सम्भवत वार्ताकालमा भएको याद छ । चीनमा कम्युनिष्ट पार्टी र जनसेना जनतामा कहिल्यै बदनाम भएन । तर, नेपालको शसस्त्र आन्दोलनमा लम्पट, सर्वहारा र अराजक मानिसको घुसपेठले माओवादी बदनाम हुँदै थियो । माओवादीलाई बदनाम नगराई जनतालाई संप्रभु बनाउनमा उनले चिन्ता जाहेर गरेका थिए । माओवादीसहित सबै राजनैतिक दललाई उत्पादन आन्दोलनमा लगाएर छिटो आर्थिक क्रान्ति गर्ने र स्वदेशमै रोजगार सिर्जना गर्दै, कृषि र अन्य क्षेत्रको उत्पादन विदेश निकासी गरेर देशको व्यापार घाटा पूर्ति गर्ने र सिंगो नेपाली समाजलाई समृद्धिको मार्गमा लैजाने उद्देश्य राखेर ‘अष्ट ज अभियान नेपाल’ नामक उत्पादन आन्दोलन हामीले सुरु गर्यौं । यो आन्दोलनमा देवेन्द्र पौडेल सुरुदेखि नै लाग्नु भयो र उहाँ अष्ट ज अभियानका केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो ।
खासगरी नयाँ जनवादी क्रान्ति गर्न हिँडेको माओवादी दक्षिणपन्थी भासमा डुबेर यसका नेता कार्यकर्ता भ्रष्टाचारका आहालमा डुब्न लागको अनुभूती भएपछि क. मोहन वैद्यको नेतृत्वमा एक हिस्सा विभाजन भयो । क. देवेन्द्रमा विद्रोहको ज्वाला र विकृति, विसंगतिको विरोधमा भएको चरित्रले यथास्थितिवाद र उपयोगितावादको समर्थन गर्न नसकेपछि उहाँ विद्रोहतर्फ नै आकर्षित हुनुभयो । पछि विप्लव हुँदै पुनः माओवादी केन्दमा फर्कनुभयो । कांग्रेस र माओवादीबीच शान्तिवार्तामा मैले गरेको सहजीकरणबाट त्यसबेला माओवादीभित्रका असंख्य असल कार्यकर्तामा मेरो प्रचार र प्रभाव परेको रहेछ । त्यसमा पनि माओवादी बुद्धिजीवी निलकण्ठ तिवारीमार्फतको सम्पर्क बढेको थियो । मेरो वर्षौंको सहकार्यमा गण्डकी तथा धवलागिरीका बामनेता कार्यकर्तामा चिनजान र एक अर्कामा आदान–प्रदान हुने नै भयो । यसको अलबा २०४६ साल अघिको भूमिगत नेपाल कम्युनिष्ट पार्टी पुष्पलालको प्रभाव र मैले त्यसक्षेत्रमा घुमेर पार्टीको काम गरेकोले पनि गण्डकी, लुम्बिनी, धवलागिरीका कम्युनिष्ट पार्टीका विभिन्न समूहका साथीहरुसँग मेरो सहृदयी सम्बन्ध थियो र आज पनि छ । चित्रबहादुर गुरुङ, गुणबहादुर घले, एकदेव आलेदेखि चित्रबहादुर केसी, दिनानाथ शर्मा, कृष्णप्रसाद भट्टराई, देवेन्द्र पौडेल बाग्लुङ, पृथ्वी सुब्बा गुरुङ हुँदै देवेन्द्र पौडेल लमजुङसँग पनि सहृदयी भाइ तथा साथीको रूपमा मेरो सम्बन्ध रह्यो ।
खासगरी शान्ति प्रक्रियापछि हामी केही साथीले राजनैतिक क्रान्तिसँगसँगै आर्थिक क्रान्तिलाई पनि लानु पर्दछ भन्ने महसुस गर्यौ । यो कुरा चीनमा क. माओले आधार इलाका र मुक्त क्षेत्रमा उत्पादनसँगसँगै लानु भएको कुरा उहाँलाई पनि स्मरणमा रहेछ । उहाँ माओवादी नेतृत्वको राजसी शोख र नयाँ सामान्तवादी शैलीको विरोधमा हुनुहुन्थ्यो । उहाँ कृषि व्यवसायीकरणको जागरण अभियानका साथसाथै कृषिमा आधारित काम गरेर जिवीकोपार्जन गर्ने कुरामा अडिग रहनुभएको थियो । सुदूरपश्चिममा गएर जैतुनको खेती गर्ने र जुम्लाको स्याउको मार्केटिङ्ग गर्ने कुरा पनि उहाँले प्रस्तावका रूपमा सुनाउनुभएको थियो ।
विकृति, विसंगति र भाडे संसदबाट भएका अथाह राष्ट्रघात अनि राष्ट्रवादी आन्दोलनको रूपमा उठेको माओवादी आन्दोलन र यसको नेतृत्व पश्चिमा र दक्षिणतिर लहसिएर भिड्न लागेपछि चिन्तित भएका क. देवेन्द्रले सभ्य र शालीनतापूर्वक त्यसविरुद्ध मत जाहेर गर्दै आएको मलाई याद छ । उहाँले अस्वभाविक कदम उठाउनु भयो । एक मनले भन्दा यो विकृतिको विरोधमा आन्दोलन उठ्न नसक्ने देखेर यस्तो कदम चाल्नु भयो की भन्ने शंका पनि छ । परीवारभित्रबाटै विद्रोह गरेर उहाँले गरेको विवाह, कठिन आर्थिक अवस्थासहितको जीवनसंघर्ष, राजनैतिक भूमिकामा ठोस जिम्मेवारीको अभाव जस्ता कुरा पनि जोडिएका हुन सक्छन् । कार्यकर्तालाई मुर्गा बनाएर आफुले मोज गर्ने र सत्ताको चास्नीमा डुबेर मजदुर किसानलाई भुलेर नयाँ महाराजा बन्ने उपयोगितावादी भद्दा संस्कृतिका बाहक वर्तमान कथित वाम समूहहरु र आफुलाई लोकतान्त्रिक समाजवादी भन्ने प्रजातान्त्रिक समूहका नेताहरुले राष्ट्र, राष्ट्रियता र जनजिवीका बिर्सेर देवेन्द्र पौडेलजस्ता असंख्य कार्यकर्ताको रगत पसिना खाँदै आएका छन् । अन्ततः देवेन्द्र पौडेल जस्ता व्यक्ति पनि राजनीतिक उपभोक्तावादको शिकार भएरै छाडे । उपभोक्तावादीहरुले देवेन्द्रहरुको लाम लगाएर कतिञ्जेल खाने हुन हेर्न बाँकी छ ।
हार्दिक श्रद्धान्जली, अष्ट ज अभियन्ता तथा क्रान्तिकारी योद्धा ।
वि.सं.२०७९ भदौ २८ मंगलवार १६:५८ मा प्रकाशित





























