काठमाडौ । पछिल्लो समय जीवन बीमामा बीमितको आकर्षण निकै घट्न थालेको छ । एकातिर नयाँ बीमा कर्ता निकै कम संख्यामा थपिएका छन् भने अर्कोतिर हजारौं बीमितहरुले समय अवधि नपुग्दै पोलीसी त्याग गरेका छन् ।
बीमा समितिका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामै ८ हजार ४२२ जनाले जीवन बीमा पोलिसी त्यागेका छन् । तथ्यांकअनुसार एक अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको बीमालेख बीमितहरुले त्यागेका हुन् ।
सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भएका बीमितले सबैभन्दा बढी पोलीसी त्याग गरेका छन् । गत साउनमा नेपाल लाइफका तीन हजार ६२४ जनाले पोलिसी त्यागेका छन् । जसको समर्पण मूल्य ६४ करोडभन्दा माथि हुन आउँछ । नेपाल लाइफ पछि सबैभन्दा बढी बीमा पोलिसी त्याग्नेमा लाइफ इन्स्युरेन्स कर्पोरेशन (नेपाल)छ । जसका एक हजार ६६६ जनाले पोलिसी त्यागेका छन् । जसको समर्पण मूल्य ३३ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा नेशनल लाइफको २८ करोड बराबरको ६१६, एशियन लाइफको ७ करोड २४ लाख, राष्ट्रिय बीमा संस्थानको ५ करोड ८९ लाख, मेट लाइफको २ करोड ८८ लाख, सूर्या लाइफको २ करोड ६४ लाख र गुराँस लाइफको १ करोड ७४ लाख बीमा पोलिसी सरेन्डर भएको समितिले जानकारी गराएको छ । त्यस्तै, प्राइमबाट ७८ लाख, रिलायबल नेपाल लाइफबाट ६८ लाख, प्रभु लाइफबाट ६६ लाख, रिलायन्स लाइफबाट ६१ लाख र युनियनबाट ५० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।
बिजनेसको आकार पनि तुलनात्मक रुपमा कम भएका कम्पनीहरुबाट पनि पोलीसी सरेन्डर भएका छन् । ६ वटा बीमा कम्पनीहरुको ५० लाख रुपैयाँभन्दा कमको पोलिसी सरेन्डर भएको छ । जसमध्ये, ज्योति लाइफको ४५ लाख, महालक्ष्मी लाइफको ४४ लाख, आइएमई लाइफको ४० लाख, सानिमा लाइफको ३८ लाख, सिटिजन लाइफको २८ लाख र सन नेपाल लाइफको १० लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका छन् ।
किन घट्यो आकर्षण ?
कतिपय बीमितले आर्थिक समस्याको कारण पोलिसी त्यागेका छन् भने कतिपयले बीमा क्षेत्रभन्दा आर्कषक अन्य क्षेत्रमा पाएर पनि त्यागेका छन् । पछिल्लो समयमा मुद्दती शिर्षकमा बैंकहरुले ल्याएको आकर्षक प्याकेज, बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य तरलताको अभाव र आम मानिसहरुको समयानुकुल आम्दानी विस्तार हुन नसक्दाको असर बीमा क्षेत्रमा परेको अनुमान गरिएको छ ।
राष्ट्रिय बीमा संस्थानका व्यवस्थापक कविप्रसाद पाठक बैंकहरुको कार्यक्रमले केही असर गरेको हुनसक्ने बताउँछन् । उनका अनुसार बैंकहरुको नयाँ स्कीमले बीमा गर्न खोज्नेलाई ‘कन्फ्यूजन’मा पारेको छ ।
“‘५ वर्षमै डबल, ६ वर्षमै डबल’ भनेपछि त्यसको प्रभाव त स्वभाविक पर्ने भो, अर्कोतिर दुर्घटना बीमाका कार्यक्रम पनि सँगै छन्”, संसार न्यूजसँगको कुराकानीमा पाठकले भनेका छन्, “जे–जस्तो कार्यक्रम बैंकहरुले ल्याएका छन्, यसले मानिसहरुमा ‘कन्फ्यूजन’ पैदा गरेको छ, ‘बैंक पनि बीमा पनि’ भन्ने जस्तो भएको छ ।”
व्यवस्थापक पाठक बैंक र बीमा कम्पनीको भूमिका बेग्ला–बेग्लै भएको कारण पनि बीमा कम्पनीका कार्यक्रमलाई प्रभावित गर्नेगरि बैंकहरुले कार्यक्रम ल्याउन नहुने बताउँछन् ।
तरलता अभावको बीचमा बैंकिङ क्षेत्रले ल्याएको मुद्दतीको नयाँ स्कीम जीवन बीमा कम्पनीहरुले कार्यान्वयन गर्दै आएको स्कीमभन्दा आकर्षक भएको बैंकर्सहरुको दाबी छ ।
यी हुन् सबैभन्दा बढी बीमा पोलिसी त्यागिएका १० कम्पनी

याे पनि…
वि.सं.२०७९ भदौ ३१ शुक्रवार १४:४० मा प्रकाशित






























