काठमाडौं । एनएमबि बैंकले भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकलाई यो सुविधा प्रदान गर्न लागेको हो ।
अब ‘भिसा डाइरेक्ट’मार्फत एनएमबि बैंकको खातामा विश्वका विभिन्न देशबाट सोझै रकम पठाउन सकिने बैंकले जनाएको छ । बैंकले सो रकम एनएमबि भिसा डेबिट (बैंक खाता)मा प्राप्त गर्न सकिने जनाएको छ ।
बैंकका अनुसार अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरबलगायत विश्वका १०० बढी देशबाट भिसा डाइरेक्ट प्लेटफर्म प्रयोग गरेर पठाएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सकिने छ ।
भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिने बताइएको छ । यो सेवा समावेश भएसँगै एनएमबि भिसा कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड÷खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यसरी रकम पठाउने विदेशी तथा स्वदेशी नागरिकले आफ्नो मोबाइल अथवा इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् ।
बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
वि.सं.२०७९ असोज ३ सोमवार १६:४४ मा प्रकाशित





























