काठमाडौं । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत ग्लोबल आइएमई बैंक लिमिटेडलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ ।
बुधवार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो कार्यक्रम नेपालजस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वधन तथा ट्रेड फाइनान्स लिमिट पूर्ति गर्ने उद्देश्यले ल्याइएको बैंकले जनाएको छ । यस परियोजनाले ग्लोबल आइएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्ने बताइएको छ ।
यस कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्ने उल्लेख छ । साथै, यसले द्विपक्षीय करेस्पोन्डेन्ट बैंकिङ्ग सम्बन्धलाई बलियो र सक्षम बनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय बैंक तथा तिनीहरुका ग्राहकहरुबीच नयाँ सम्बन्धहरु विस्तार गर्न सहयोग गर्ने बताइएको छ ।
कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए । उनले ग्लोबल आइएमई बैंकलाई विश्वमै पहिलो पटक जलवायु अनुकूल व्यापार व्यवसायको लागि लगानी सुविधा प्रदान गरेकोमा आईएफसीलाई धन्यवादसमेत व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।
वि.सं.२०७९ असोज १३ बिहीवार ०७:२० मा प्रकाशित





























