काठमाडौं । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार टुंग्याएको छ । सुदूरपश्चिममा बीपी कांग्रेससँग तालमेल गरेको एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फको एक÷एक सीट विपी कांग्रेसलाई छाड्दै बाँकीको टुंगो लगाएको हो ।
यसपटक नेता भीम रावल प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार नहुने भएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस भए पनि अध्यक्ष केपी शर्मा ओलीले उनको नाम राखेका छैनन् । अछाम १ बाट रावलको ठाउँमा झपटबहादुर बोहोरा उम्मेदवारको रुपमा आएका छन् ।
नेता रावल अछामबाट २०४८ यताका सबै चुनाव लड्दै आएका नेता हुन् । एमालेको उपाध्यक्षसमेत भइसकेका रावल अध्यक्ष ओलीका कटु आलोचक हुन् ।
पार्टीको १० औं महाधिवेशमा अध्यक्ष ओलीविरुद्ध उठेका थिए । महाधिवेशनबाट अध्यक्षमा उम्मेदवारी दिएर सर्वसम्मत अध्यक्ष हुने ओलीको चाहानामाथि रावल तगारो बनेका थिए।
आफ्नो प्रतिस्पर्धी जस्तो देखिएकै कारण पार्टीभित्र रावल अध्यक्ष ओलीको निशानामा थिए । सर्वसम्मत सिफारिस परेपनि अध्यक्ष ओलीको चाहनाअनुसार नै उम्मेदवार बन्न नपाएका हुन् । एमालेले उम्मेदवार चयनको जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो ।
कहाँ एमालेको उम्मेदवार को ?
एमालेले प्रतिनिधिसभातर्फ बाजुरामा कर्णबहादुर थापा, बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर भण्डारी र डोटीमा गौरी ओलीलाई उम्मेदवार बनाएको छ ।
यसैगरि, अछाम– १ मा झपट बोहरा, अछाम–२ मा यज्ञ बोगटी, कञ्चनपुर–१ मा तारा लामा, कञ्चनपुर–२ मा नरबहादुर धामी, कञ्चनपुर–३ मालाई उम्मेदवार बनाएको छ । यसैगरि, कैलाली १ मा टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट, ५ मा नारदमुनि रानालाई उम्मेदवार बनाएको छ ।
एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भने उम्मेदवार नदिने भएको छ । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।
वि.सं.२०७९ असोज २१ शुक्रवार १९:११ मा प्रकाशित






























