काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रतिबन्धित कार, जिप, भ्यानको एलसी प्रतिबन्ध खुल्ला गर्न सरकारसँग माग गरेको छ ।
तीब्र आयातका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब परेसँगै सरकारले गत बैंशाख १३ गतेदेखि गाडीसँगै १० प्रकारका वस्तुहरुको आयातमा प्रतितपत्र (एलसी) बन्द गरेको थियो ।
तर, पछिल्लो पटक अन्य वस्तुहरुको प्रतिबन्ध फुकुवा गरेपनि सरकारले गाडीमा लगाइएको प्रतिबन्ध भने हालसम्म खुलाएको छैन । यस्तो प्रतिबन्ध असोज २८ गतेसम्मका लागि जारी राखेको छ । तोकिएको समय सीमा नजिकिएसँगै यता नाडाले गाडीको प्रतिबन्ध खुल्ला गर्न दबाब दिन शुरु गरेको छ । सोमबार मात्र एक विज्ञप्ति जारी गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले अब अरु बढी प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेका छन् ।
‘विगतमा सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दबाब परेको कारण देखाउँदै २०७९ बैशाख १४ गते देखि जीप, कार र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको र त्यस प्रतिवन्धलाई क्रमशः विस्तार गर्दै २०७९ को आश्विन २८ गतेसम्म पु¥याएको छ । तर हाल विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सुचकांक सकारात्मक अवस्थामा पुगेका छन् । देशलाई भन्सार विन्दुमा उठ्ने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउँदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोवाइल क्षेत्र हो । खर्बौंको लगानी तथा लाखौंलाई रोजगारी प्रदान गरेको अटोमोबाइल व्यवसाय आज सरकारको उक्त अदूरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको छ ।
अध्यक्ष थापाले भनेका छन्, ‘नेपालको कूल आयातमा नीजि प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अरब मात्र) भन्दा कम रहेको प्राप्त तथ्यांकहरुबाटै स्पष्ट हुन्छ । तर यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्व योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौं बस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पु¥याउने गर्दछ । यस तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ । यसै यथार्थताहरुलाई मनन गर्दे कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध अबिलम्ब फुकुवा गर्न माग गर्दछु ।’ अटोमोबाइल्स आयातको विषयमा विषयमा चौतर्फि दबाब सिर्जना गर्न नाडाले सञ्चार माध्ययमहरुसँग समेत साथ र सर्पोट माग गरेको छ ।
वि.सं.२०७९ असोज २५ मंगलवार ०८:२९ मा प्रकाशित






























