back
CTIZAN AD

अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ एयरलाईन्सको अन्तराष्ट्रिय उडान, कुन–कुन हुन् त ती जहाज ?

वि.सं.२०७९ असोज २५ मंगलवार

669 

shares

सिबी अधिकारी, काठमाडौँ । विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाकाको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) लाई लिइन्छ । सात दशक लामो इतिहास बोकेको काठमाडौँ विमानस्थल विदेशीलाई नेपालको झ–झल्को दिने ऐनाको रुपमा पनि हेरिन्छ । यो विमानस्थल भएर अहिले तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरिरहेको टिआइएले जनाएको छ ।

कोभिड–१९ महामारीपूर्व काठमाडौँ विमानस्थलमा ३१ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्थे । आन्तरिकतर्फ पनि ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले सेवा दिइरहेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार ‘स्लट’ व्यवस्थापन प्रभावकारी बनाइ उडान सुरक्षा र सेवा गुणस्तरमा ध्यान दिइएको छ ।

“विमानस्थलमा स्लट व्यवस्थापन प्रभावकारी ढङ्गले कार्यान्वयन गरिएको छ । अहिले जहाज ‘होल्ड’ र ‘डिले’ हुने अवस्था छैन । ‘सेफ्टी इनह्यान्स’ गरेका छौँ । अहिले पर्यटकीय सिजनमा पनि विगतमा जस्तो दुई देखि तीन घण्टा जहाज होल्ड र उडान डिले हुँदैन, मौसमले साथ दिएसम्म त्यस्तो कुनै समस्या छैन”, महाप्रबन्धक ठाकुरले भने ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), निजी लगानीको हिमालय एयरलाइन्स र बुद्ध एयर (भारतको बनारसमा) ले अन्तराष्ट्रियतर्फ उडान गरिरहेका छन् । भारतको एयर इन्डिया, इन्डिगो र विस्ताराले काठमाडौँ विमानस्थलमा उडान भर्दै आएका छन् । चीनको एयर चाइनाले मात्रै साताको एक उडान गरिरहेको छ । कोभिडपूर्व चीनका चार एयरलाइन्सले काठमाडौँमा उडान गर्थै । कोभिडपूर्व चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरेका थिए ।

नेपाल एयरलाइन्सले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ । हिमालय एयरलाइन्सले विभिन्न छ देशका छ गन्तव्यमा उडान गर्छ । विमानस्थलको विवरणमा अहिले अन्तराष्ट्रियतर्फ दैनिक दुईतर्फी ७५ देखि ८५ उडान भइरहेको छ । चाडपर्व र पर्यटकीय सिजन चलिरहेकाले अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढेको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ अहिले दुईतर्फी तीन सय १० उडान चलिरहेको छ ।

तत्कालका लागि थप अन्तर्राष्ट्रिय एयरलाइन्स सम्पर्कमा नआएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हङ्गेरीको बिज एयरले आगामी अक्टोबर ३० देखि यूएईको अवुधावी उडान गर्ने अनुमति पाएको छ । नोभेम्बर १५ तारिखबाट वीन्टर सेडूल आउने र त्यसमा गौतमबुद्ध विमानस्थललाई केन्द्रित गरिएको प्रवक्ता निरौलाले जानकारी दिए । हिमालय एयरलाइन्स, एयर अरेबिया र फ्लाई दुबईले उडान भर्ने चासो देखाएका छन् ।

गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतको जजिरा एयरले दैनिक एक उडान गरिरहेको छ ।

महामारीपछि पर्यटन क्षेत्र चलायमान बन्दै गएको छ । पर्यटकीय सिजन पनि सुरु भएको छ । दसैँ सकिएर तिहार र छठपर्वको सङ्घारमा रहेकाले अहिले अन्तर्राष्ट्रिय आन्तरिक उडान चाप बढेको छ । हवाईयात्रुको सङ्ख्या पनि बढ्दो क्रममा रहेको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक यात्रुले एयरलाइन्सको ‘विजनेश’ बढाएको छ । चाडपर्वसँगै भ्रमणमा निस्कने यात्रुको सङ्ख्या बाक्लिएको छ ।

यी एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान
प्राधिकरणका अनुसार टिआइएबाट अहिले २६ एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरिरहेका छन् । नेपालको नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन् ।

त्यस्तै एयर अरेबिया अबुधाबी र एयर अरेबिया सारजाहले उडान भर्दै आएका छन् । जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिङ्गापुर एयर, श्रीलङ्कन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन् । विमान बङ्गलादेश, क्याथी प्यासिफिक एयरवेज लिमिटेड, ड्रुक एयरलाइन्स र फ्लाइ दुबईले काठमाडौँ विमानस्थल भएर उडान गरिरहेका छन् ।

विमानस्थलमा पछिल्लो पटक थाई स्माइल एयर, भिस्तारा र श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् । गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरले उडान गरिरहेको छ । नेपालले हाल ४० मुलुक र युरोपेली सङ्घ गरी ४१ मुलुकसँग हवाईसेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । छिट्टै अमेरिका, स्वीट्जरल्याण्ड, इण्डोनेशिया, रुवाण्डालगायत मुलुकसँग हवाई सम्झौता हुने जनाइएको छ ।

 

वि.सं.२०७९ असोज २५ मंगलवार १५:०६ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...