back
CTIZAN AD

वृद्ध दम्पतीको हत्याले गाउनै शोकमय बन्यो

वि.सं.२०७९ मंसिर २७ मंगलवार

606 

shares

शंकर श्रेष्ठ, मलेखु । दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ÷सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्काेघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ ।

वृद्ध दम्पतीको हत्यापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ को आहाले गाउँ नै शोकमय बनेको हो । ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर सोमबार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । विष्णुबहादुरलाई घर बाहिर खाटमा सुतिरहेकै अवस्थामा निधारमा तिखो हतियार प्रहार गरेर एकै झड्कामा प्राण लिएको देखिन्छ भने निरमायालाई घरभित्रै लछारपछार पार्दै पिटीपिटी हत्या गरेको घटनास्थलको दृष्यले देखाउँछ ।

घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री भन्छन्, “हत्या नै भएको हो भन्ने आधार छन्, बोझिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । के कारण हत्या भयो भन्ने कुरा हामी अनुसन्धानमै छौँ ।” यी दम्पतीको एक छोरा एक छोरी छन् । छोरा बुहारी नै काठमाडौँमा डेण्टल क्लिनिक चलाएर बस्छन् । छोरी ज्वाईँको पनि आफ्नै व्यवसाय छ । शुक्रबार साँझ छोरा कुमारले फोन गरेर स्वास्थ्य चेकजाँचका लागि आमाबुबालाई काठमाडौँ बोलाएका पनि रहेछन् । आमाले अहिले केही समस्या छैन, केही दिनमा काठमाडौँ आउँछु भनेका रहेछन् तर, त्यही शुक्रबार साँझको फोन वार्तालाप नै अन्तिम बन्यो । “शुक्रबार साँझ ७ः३० बजेतिर कुरा गरेको थिए । शनिबार विश्वकप हेर्न लागेकाले गर्दा कुरा गर्ने मेसो मिलेन । आइतबार साँझ फोन गर्दा फोन उठेन, केही बेरमा आमाको मोबाइल अफ भयो”, विष्णुबहादुर र निरमायाका छोरा कुमारले भने, “हत्यारा पत्ता लगाएर कानुनअनुसार कारबाही गरियोस् ।”

छोरा कुमारसँगको कुराकानीअनुसार सधैँजसो आमाबुबाको छोरासँग फोनमा कुराकानी हुन्थ्यो । सन्चो विसन्चोको कुरा हुन्थ्यो । पटकपटक काठमाडौँ आएर बस्नुस् भनेर छोरा कुमारले भनेका रहेछन् । “तर, बूढाबूढी हामी गाउँमै बस्छौँ भन्थे र त्यही झुप्रो घर छोड्न मान्नुभएन”, कुमारले भने, “आज यस्तो भोग्नुप¥यो ।”
शुक्रबारको कुराकानी पछि शनिबार छोरा कुमारले फोन नै गरेनन् । आइतबार साँझ फोन गर्दा पहिलोपटक फोन उठेन । केहीबेरपछि फोनको स्विच अफ भन्यो । कुनै कारण फोन अफ भयो होला भन्ने सोचे र छोरा कुमारले त्यति खोजी गरेनन् । एक्कासि सोमबार बिहान टेलिफोनमार्फत घटना सुनेको कुमारले सुनाए । उनले भने, “हतारिएर घर आइपुग्दा प्रहरी र स्थानीयले घर छेकेर बसिरहेको रहेछ ।”

आइतबार यी दम्पतीलाई छिमेकीले पनि कसैले ख्याल राखेनन् । घरबाहिर पनि देखिएन । सधैँजसो गोठालो जाने, घाँस काट्न जानेसँग पनि आइतबार यी दम्पतीको भेट भएन । आइतबार पनि नभेटेका छिमेकीले सोमबार बिहान घाँस काट्न जाने बेला बोलाउन घर पुग्दा मात्रै दम्पतीलाई मृतावस्थामा फेला पारेको पहिलोपटक घटनास्थल पुग्ने बताउँछन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान, छोरासँग फोनमा भएको कुराकानी र छिमेकीसँगको कुराकानीअनुसार शव सोमबार बिहान भेटिए पनि घटना शनिबार राति नै भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । विष्णुबहादुर हुलाक कार्यालयको जागिरबाट पेन्सनवाला थिए । भूकम्पपछि जस्ता र काठको फल्याकले बारेको छाप्रो घरमा नै विष्णुबहादुरको दम्पतीको दैनिकी चलेको थियो । छिमेकीका अनुसार विष्णुबहादुर सधैँजसो घर बाहिर पिँढीमा रहेको खाटमा नै सुत्दा रहेछन् । घटना भएको रात पनि त्यही खाटमा मृत भेटिएका हुन् । गाउँकै सोझा र भलाद्मी मानिने विष्णुबहादुर दम्पतीको हत्याले अहिले गाउँ नै शोकमा परेको छ ।

मङ्गलबार परिवारले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जाहेरी दिएका छन् । घटनास्थलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानको टोलीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान गरेको छ । घटना भएलगत्तै गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी निरीक्षक रमेश थापासहितको प्रहरी टोली अहिले पनि घटनास्थलमै बसेर घटनाको सूक्ष्म अध्ययन गरिरहेको छ ।

सोमबार राति सदरमुकाम धादिङबेँसी ल्याइएको दम्पतीको शव मङ्गलबार दिउँसो परीक्षणको लागि काठमाडौँ लगिएको छ । वृद्ध दम्पती मात्रै बस्दै आएको घर यतिबेला सुनसान छ । उनीहरूले पालेको बाख्रा, खसीबोका र भैँसी गोठमै अलजिल्लामा छ । सधैँजसो घरमा काम गरिरहने, घर वरपर देखिइरहने दम्पती नदेख्दा छिमेकीको पनि हातमा काम आएको छैन ।रासस

 

वि.सं.२०७९ मंसिर २७ मंगलवार २०:०२ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...