काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षारोपण गरेको छ ।
बैंकले १४औं वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बृक्षारोपण गरेको हो । वार्षिकोत्सवको अवसर पारेर २०७८ फागुन ११ गतेपछि २०७९ मंसिर ९ गते सम्म ९ महिनामा सय भन्दा बढी सामाजिक संघसंस्था, स्थानीय तह, वन कार्यालय र क्लबहरु समेतको सहकार्यमा १४ हजार ४० वटा बिरुवा रोपेको बैंकले जनाएको छ ।
जलवायु परिवर्तनका कारण विश्ववयापी रुपमा वातावरणमा प्रतिकुल असर परिरहेकाले वातावरण संरक्षण, दीगो विकास र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएर बैंकिङ क्षेत्रमा संभवतः सबैभन्दा धेरै संख्यामा बृक्षरोपण गरेर नयां उदाहरण पेश गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । बैंकका ब्राण्डिङ तथा मानव संशाधन विभाग प्रमुख प्रभास राईका अनुसार लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पूर्व वाहेक १० जिल्लासहित बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा समेत बैंकले बृक्षारोपण गरेको छ ।
बृक्षारोपणमा संघीय राजधानी काठमाडौंसहित ५ वटा प्रदेशका शाखा कार्यालयका कर्मचारीको पनि सहभागिता रहेको राईले बताए । शाइन रेसुंगाले हालै मात्रै उत्कृष्ट व्यवस्थापन गरेवापत बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको थियो ।
वि.सं.२०७९ पुस १३ बुधवार ०८:०२ मा प्रकाशित





























