काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेपमा केही सुधार देखिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार पुस महिनाको पहिलो हप्तामा बैंकहरुमा करिब २० अर्ब तरलता थपिएको हो ।
यस अघि गत पुस १ गतेको तथ्यांकमा बैंकहरुमा जम्मा चार अर्ब निक्षेप थपिएको थियो । वाणिज्य बैंकहरुमा निक्षेप संकलन भएको यो निकै कम रकम हो । हाल देशमा २६ वाणिज्य बैंकहरु सन्चालनमा छन् । तिनीहरुमध्ये १० वटा बैंक एकापसमा गाभ्ने र गाभिने (मर्जर)को प्रक्रियामा छन् ।
बैकिङ क्षेत्रमा निक्षेप संकलन निराशाजनक भएपछि कर्जा लगानीमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । मंसिरको अन्तिम हप्तामा बैंकहरुबाट कर्जा लगानी नै भएको छैन भने पुस महिनाको पहिलो हप्तामा करिब ८० करोड मात्र कर्जा लगानी भएको छ ।
चालु आर्थिक वर्षको साउनमा एक खर्ब आठ अर्ब रकम बैकिङ क्षेत्रबाट बाहिरिएको थियो भने कर्जा लगानी एक अर्ब ५२ करोड मात्र भएको थियो । त्यस्तै भदौमा ५३ अर्ब निक्षेप संकलन हुँदा १४ अर्ब मात्र कर्जा प्रवाह भएको थियो ।
त्यस्तै, असोज महिनामा ६२ अर्ब निक्षेप संकलन हुँदा ३० अर्ब ४ करोड कर्जा प्रवाह भएको देखिन्छ भने कार्तिक र मंसिर महिनामा क्रमशः १६ अर्ब र ५७ अर्ब निक्षेप संकलन हुँदा एक अर्ब २६ करोड र २ अर्ब ६ करोड कर्जा प्रवाह भएको देखिन्छ ।
यसरी हेर्दा चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरुमा ७९ अर्ब निक्षेप संकलन भएर ४८ अर्ब ६४ करोड कर्जा प्रवाह भएको देखिन्छ ।
वि.सं.२०७९ पुस १३ बुधवार ११:४१ मा प्रकाशित






























