Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

कम्युनिष्टप्रति उदार चीन : स्वागतमा केरुङ र हिल्सा, सहयोगमा अन्य नाका खुलाउँदै



काठमाडौं । सरकारको नेतृत्वमा कम्युनिष्ट शक्ति आएसँगै मूलतः उत्तरी छिमेकी देश चीन केही उदार देखिएको छ । संसदको दोस्रो एमाले र तेस्रो शक्ति माओवादी केन्द्र मिलेर सरकार बनाउँदा चीनले सहयोग गर्न सुरु गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० मा एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै चीनले नाकाहरु खुलाउन सुरु गरेको थियो । चीनले प्रचण्ड प्रधानमन्त्री भएकै पर्सीपल्ट केरुङ र हिल्सा नाका खुलाएको थियो ।

चीनले कोरोना महामारीसँगै २०७६ माघ १५ देखि मुख्य नाका केरुङ बन्द गरिदिएको थियो । बीचमा चीनले केही समय खोल्ने र बन्द गर्ने गर्दै आएको थियो । चीनले नाका बन्द हुनुको कारण कोरोना महामारीलाई देखाउँदै आएको छ ।

तर, अहिले चीनमा कोरोना महामारी यसअघिकै अवस्थामा छ । कोरोना महामारीको कारण चीनका मुख्य शहरहरुमा लकडाउन छ । तर, यस्तो अवस्थामा चीनले नाकाहरु खुला गर्न थालेको छ । जसलाई कम्युनिष्ट सरकारको जबरजस्त स्वागतको रूपमा हेरिएको छ । केरुङ र हिल्सा नाका खुला गरेको चीनले अन्य नाका पनि खुलाउने घोषणा गरेको छ ।

आइतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै चिनियाँ राजदूतावासका चार्ज दी अफेयर्स (सीडीए) वाङ सिनले केरुङ र हिल्सासँगै अन्य नाका पनि खुलाउने घोषणा गरेका हुन् । वाङले केरुङ र हिल्सा नाकासँगै अन्य बदरगाहबाट पनि व्यापार सुरु गर्ने बताएका छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै चिनियाँ राजदूतावासका चार्ज दी अफेयर्स (सीडीए) वाङ सिन ।

“केरुङ बन्दरगाहबाट हालै दुईतर्फी ढुवानी कार्य संचालन भएको छ, पुलानरयारी बन्दरगाहमा दुईतर्फी व्यापार सन् २०२३ को सुरुबाट पुन: खोलिनेछ”, वाङले भनेका छन् ।

चीनले नेपालसँग रेल र सडकमार्ग निर्माणमा पनि काम गर्न चाहेको उनले बताए । उक्त समारोहमा उनले ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कबाट चीनले नेपाल हुँदै तिब्बतलाई दक्षिण एसियाली देशसँग जोड्ने लक्ष्य लिएको पनि बताए ।

चीन–नेपाल सीमापार रेल्वेको सम्भावताबारे अध्ययन र सर्वेक्षणको काम पनि अघि बढेको बताउँदै वाङले नेपालको ‘भूजडित’ मुलुक बन्ने सपना पुरा गर्न चीनले सघाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । नेपालमा राजनीतिक स्थिरता कायम होस् र नेपाल समृद्धिको बाटोमा लागोस् भन्ने चाहान चीनको रहेको वाङले स्पष्ट पारे ।

वामपन्थीप्रति चीन स्वभाविकरूपमै उदार छ : परराष्ट्र विज्ञ हिरण्यलाल श्रेष्ठ

परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठ कम्युनिष्ट शक्तिप्रति चीन स्वभाविकरूपमै उदार र सहयोगी भएको बताउँछन् । आफुँहरु कम्युनिष्ट भएको कारण नेपालमा कम्युनिष्ट सरकार आउँदा चिनियाँ स्वभाविक उत्साहित हुने उनको भनाई छ ।

तर, अहिलेको सरकार निर्माण र चीनले चालेको कदम भने संयोग मात्रै भएको उनको भनाई छ । चीनले आफ्नो कोरोना नीति खुकुलो बनाउँदा नाका खोल्ने नीति लिएको श्रेष्ठले बताए ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ ।

“कम्युनिष्ट आएर नाका खोलेको होइन”, श्रेष्ठले संसार न्यूजसँग भनेका छन्, “कम्युनिष्ट शक्तिप्रति चिनियाँहरु स्वभाविकरूपमा उदार छन्, उनीहरु केही भूमिकामा सहयोगी जस्ता पनि देखिन्छन् तर, अहिलेको घटना संयोग हो । माओवादी–एमाले मिलेर सरकार बनाउँदै गर्दा चीनले कोरोनासँग सम्बन्धी केही नीतिमा हेरफेर गरेको थियो, पछिल्लो घटना उक्त नीति हेरफेरसँग सम्बन्धित छ ।”

नेपालमा चीनको प्राथमिकता राजनीतिक स्थिरता र समृद्धि नै भएको उनले बताए । साथै, नेपालको सरकार कसैको इसारामा हिँड्ने नहोस् भन्ने पनि चीनले चाहेको उनी बताउँछन् । नेपालमा ‘एक चीन’ विरोधी गतिविधि नहोस् भन्ने चिनियाँहरुले चाहेको श्रेष्ठको भनाई छ ।

“नेपालमा उनीहरुको स्वभाविक प्राथमिकता कम्युनिष्ट शक्तिको सरकार बनोस् भन्ने छ तथापी, उनीहरुले प्रजातान्त्रिक शक्तिलाई असहयोग गर्दैनन्”, श्रेष्ठले भनेका छन्, “तर, उनीहरु नेपालमा राजनीतिक स्थिरता होस्, समृद्धिको बाटोमा मुलुक हिँडोस्, राजनीतिक स्थिरतासँगै एक चीन नीतिप्रति नेपाल अडिग रहोस् भन्ने चाहना उनीहरुको छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा