काठमाडौं । स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रौतहट २ बाट स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका साह सोमबार बेलुका एमालेमा प्रवेश गरेका हुन् ।
अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थितिमा साहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
२०७७ सालमा जनता समाजवादी पार्टी (जसपा) त्यागेर एमालेमा प्रवेश गरेर रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका साहले पूर्वमन्त्री आफताव आलमका छोरा फर्दोस आलमलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । उक्त निर्वाचनमा जसपा–एमालेको गठबन्धनले जसपाका शैलेन्द्र साहलाई उम्मेदवार बनाएपछि किरणले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
वि.सं.२०७९ पुस १९ मंगलवार ०९:५३ मा प्रकाशित






























