काठमाडौ । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वल्र्डलिंकले हात पारेको छ ।
कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो ।
निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड प्रदान गर्ने गरिएको छ । यसबाट समाजमा सबैको मनोवल बलियो पार्नुको साथै राम्रो काम गर्न प्रेरित र प्रोत्साहन समेत गर्ने आयोजकको अपेक्षा छ ।
प्राध्यापक डा. फत्तबहादुर केसी अवार्डका लागि निर्णायक मण्डलको संयोजकको रूपमा रहेका थिए । जसमा वुमन फर ह्युमन राइट्सका संस्थापक अध्यक्ष लिली थापा, पत्रकार बबिता बस्नेत, भुवन दाहाल, सफल पार्टनरका सीईओ ओषुतोश तिवारी, पत्रकार पुष्पराज आचार्य र आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा सदस्यको रुपमा रहेका थिए ।
अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा वल्र्डलिंकले देखाएको प्रतिवद्धता, ग्राहक संख्या, प्रयोग गरिएको प्रविधि, मर्मत सम्भार, अनलाइन भुक्तानीको विकल्प, शाखाहरूको संख्या, सेवाको पहुँच क्षेत्र आदिलाई आधार बनाइएको थियो । यसका साथै कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालित तालिम, स्थानीय प्रतिभाको कदर, व्यवसायिक सामाजिक उत्तरदायित्व जस्ता विषय समेत अवार्डका लागि मूल्यांकन गरिएको थियो । देशभर वल्र्डलिंकका सात लाखभन्दा धेरै ग्राहक रहेका छन् । जसमध्ये ९३ प्रतिशत घरायसी, दुई प्रतिशत साना व्यवसाय र एक प्रतिशत इन्टरप्राइज रहेका छन् । वल्र्डलिंकले हाल पाँच हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।
वि.सं.२०७९ पुस २० बुधवार ०९:२३ मा प्रकाशित






























