
काठमाडौं । नेपाल क्रिक्रेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।
पोखरामा मंगलबार सम्पन्न क्यान कार्यसमिति बैठकले सन्दीपमाथि लागेको निलम्बन फुकुवा गरेको हो ।
एक १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा क्यानले भदौ २३ गते लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । सो निलम्बनसँगै लामिछानेको कप्तान पद पनि गुमेको थियो ।
क्यानले उनीमाथि गरिएको निलम्बन फुकुवा सम्बन्धमा विस्तृत रुपमा आज सार्वजनिक गर्ने जनाएको छ ।
यद्यपी पाटन उच्च अदालतको आदेशमा २० लाख धरौटीमा रिहा भएका लामिछानेलाई थुनामै राख्न भन्दै मंगलबार सर्वोच्चमा निवेदन परेको छ ।
उच्च अदालत पाटनले लामिछानेलाई गत पुस २८ गते २० लाख धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो ।