
काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् ।
बुधबार घोराहीको कर्मचारी मिलन केन्द्रमा भएको उपनिर्वाचनमा एमालेबाट उम्मेदवार रहेका दसौदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार दसौदीले ४०२६ मतसहित विजयी हुँदा उनका प्रतिष्पर्धी रहेका नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले ३७२० मत प्राप्त गरेका छन् । दरौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी ४०२६ मत प्राप्त गरेका हुन् ।
त्यस्तै दरौदीका प्रतिश्प्रधी आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ मत गरी ३७२० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा कूल मतभार ७ हजार ९ मत रहेकोमा १४४ मत बदर भएको थियो भने मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह स्वास्थ्य समस्याका कारण मतदानमा उपस्थित भएकी थिइनन् । राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गरेका छन् ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका खिमलाल भट्टराईले निर्वाचनका लागि असोज २३ गते राजीनामा दिएपछि खाली रहेको उक्त पदमा आज उपनिर्वाचन भएको हो ।