नवलपरासी । एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उप प्रदेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यहरुका लागि १ दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
माघ २६ गते पिस प्वाइन्ट पार्टी प्यालेस, गोपीगन्ज नवलपरासी (वर्दघाट रोड) मा तालिम सम्पन्न गरेको संस्थाले जनाएको छ ।
संस्थामा आबद्ध रही व्यवसायिक पशुपालन तथा कृषि गर्न ईच्छुक समुह सदस्यहरुको आम्दानीमा वृद्धि गर्ने हेतुले उक्त तालिम संचालन गरिएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमर नाथ सेढाईंले बताए ।
तालिममा संस्थाको उप–प्रादेशिक कार्यालय भुताहा अन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध करिब ५० जना समुह सदस्यहरुको सहभागिता रहेको थियो । आधुनिक कृषि प्रणाली तथा भईरहेका अभ्यासहरु, व्यवसायिक कृषि सम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विष्लेषण, उद्यमशीलता र व्यवसायको सुरक्षण कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा कर्पोरेट कार्यालयका चिफ विजनेस एण्ड क्वालिटी एस्युरेन्स ईकोसिष्टम अर्जुन श्रेष्ठले संस्था तथा संस्थाका सेवा सुविधाबारेमा प्रष्ट पारेका थिए ।
त्यस्तै, पशु तथा कृषि प्राविधिक निरज पौडेलले तालिममा कृषि तथा पशु व्यवसाय सम्बन्धी कक्षाहरुको सहजीकरण गरेका थिए । लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमर नाथ सेढाईंले सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा आफ्नो कृषि पेशामा लागु गर्न सुझाव दिनुका साथै भविष्यमा समेत संस्थामा आवद्ध कृषक सदस्यहरुको आयआर्जनमा टेवा पु¥याउने यस्ता खाले कार्यक्रमहरु संचालनमा ल्याउने समेत जानकारी दिएका थिए ।
वि.सं.२०७९ माघ २७ शुक्रवार ०८:०९ मा प्रकाशित






























