काठमाडौं । विगत एक वर्षमा नेपाली रुपैंयाँ अमेरिकी डलरको तुलनामा करिब ११ रुपैयाँले अवमूल्यन भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कमा यस्तो देखिएको हो ।
गत वर्ष २०२२ को फेब्रुवरी १२ का दिन एक अमेरिकी डलरको एक सय २० रुपैंयाँ ३२ पैसा मूल्य थियो । तर, एक वर्षपछि २०२३ को फेब्रुवरी १२ कै दिन एक अमेरिकी डलर प्राप्त गर्न एक सय ३१ रुपैंयाँ ७० पैसा खर्च गर्नुपर्ने भएको छ । यसरी हेर्दा, नेपाली रुपैयाँ डलरको तुलनामा करिब साढे आठ प्रतिसतले अबमूल्यन भएको देखिन्छ ।
यसको सोझो असर भने आयातित वस्तुहरुमा देखिएको छ । नेपालीहरुले प्रयोग गर्ने अधिकांश आयातित वस्तुहरुको मूल्य बढेको छ भने नेपालमा आउने कच्चा पदार्थको मूल्य पनि बढेको छ ।
सबैभन्दा ठूलो असर नेपालले सबैभन्दा बढी आयत गर्ने पेट्रोलियम पदार्थमा परेको छ । आयातमुखी अर्थतन्त्र भएको हाम्रो जस्तो देशमा अन्तराष्ट्रिय व्यापारले देशको अर्थतन्त्र र देशको मूद्राको मूल्य निर्धारण हुन्छ । निर्यातको तुलनामा अधिक आयात गर्ने हाम्रो देशको अर्थतन्त्र सोहिकारणपनि धारासायी बन्दै भएको प्रष्ट छ ।
यदि अमेरिकी डलरको विनिमयदर गतवर्षर्कै हाराहारीमा हुँदो हो त आज पेट्रोलको मूल्य एक सय ६८ रुपैयाँको हाराहारीमा हुने थियो ।
आयातकर्तालाई भन्दा कामदारलाई फाइदा
अन्तराष्ट्रिय बजारमा नेपाली मुद्रा अबमूल्यनको असर आयातकर्तालाई परे पनि रोजगारीका लागि विदेशिएका कामदारहरुलाई भने फाइदा नै भएको छ । डलरको भाउ बढेपछि कामदारले पठाउने रेमिट्यान्स रकममा पनि बृद्धि भएको छ ।
त्यस्तै, डलरको भाउ बढेपछि अन्तराष्ट्रिय बजारमा पहेलो धातु सुनको मूल्य पनि आकाशिएको छ । एक वर्षमा सुनको भाउ झनै १० हजारले बढेको छ ।
वि.सं.२०७९ माघ २९ आइतवार १५:४३ मा प्रकाशित






























