काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नाम प्रस्ताव गरेका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको भेटका क्रममा अध्यक्ष ओलीले राष्ट्रपतिमा नेपालको नाम प्रस्ताव गरेको बताइएको छ ।
उक्त भेटमा ओलीले राष्ट्रपतिका लागि पहिलो नेपाल र दोस्रोमा सुवास नेम्वाङको नाम प्रस्ताव गरेको बताइएको छ ।
अध्यक्ष ओलीले नेता नेपाल र नेम्वाङको नाम प्रस्ताव गरेपछि प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलसँग छलफल गर्ने बताएका थिए ।
त्यस्तै राष्ट्रपतिका विषयमा छलफल गर्न आज दिउँसो बसेको एकिकृत समाजवादीको बैठकमा नेता नेपालले यसबारेमा ब्रिफिङ गर्दै आफुलाई राष्ट्रपति बन्नका लागि प्रधानमन्त्री र ओलीबाट कुनै प्रस्ताव नआएको बताएका थिए । एकिकृत समाजवादीले प्रचण्डले भनेजस्तै राष्ट्रपतिमा राष्ट्रिय सहमति भएमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालमध्ये एकलाई अगाडि सार्ने रणनीतिमा रहेको छ ।
उता आजै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न भन्दै कांग्रेस सभापति देउवालाई भेटेको थियो ।
वि.सं.२०७९ फागुन १० बुधवार १६:१० मा प्रकाशित






























