काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आठ दलीय गठबन्धन पाँच वर्षसम्म दायाँ बायाँ नचल्ने बताएका छन् ।
राष्ट्रपतिको निर्वाचन लक्षित बागमती प्रदेशका सांसदहरुलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रममा थापाले यो पटक कांग्रेस जिम्मेवारीका साथ अगाडि बढ्ने समेत बताए ।
’कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीसाथ अघि बढ्छ । हाम्रो पार्टीलाई या व्यक्तिलाई क्षति होस् पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट दायाँ बायाँ चल्दैन’, थापाले भने ।
उनले पुष १० गते जे भएको थियो त्यो गलत भएको र अहिले सबै ठिक भएको बताएका छन् ।
‘हामीबाट कमजोरी भएको हो । नेपाली कांग्रेस ठूलो पार्टी भएकोले यसको जिम्मा पनि लिन्छ । हामी आज ती कमजोरीहरुलाई महसुस गरेर हामी एक ठाउँमा उभिएका छौं । अहिले जे भएको छ ठिक भएको छ । हुनुपर्ने यहि हो ।
पुष १० गते जे भएको थियो त्यो गलत भएको थियो । पुष १० गते जे भयो त्यसलाई तोडेर, भत्काएर फागुन १० देखि १३ सम्म जे बन्यो जे बन्दैछ त्यसमा हामीले सन्तोष मान्नुपर्छ, गौरव गर्नुपर्छ अनि बचाउनु पनि पर्छ ।’ उनले भने ।
महामन्त्री थापाले ७४ देखि ०७९ सम्मको समय त्यसै खेर गएको बताउँदै भने–‘एउटा व्यक्तिको लहड, अहंकार र स्वेच्छाचारिताले खेर गयो । यो पाँचवष हामी खेर जान दिँदैनौं । हामीसँग जम्मा पाँचमहिना समय छ । फागुन २५ र चैत ३ गते राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनले केही दिन अल्मलाए पनि त्यसपछि पाँच महिनाको समय छ । त्यो पाँच महिनाभित्र हामीले जनतामा आसा संचार गर्न सक्यौ भने हामीले हाम्रो गठबन्धनको औचित्य पुष्टि गर्नै पर्दैन तयो परिणामले पुष्टि गर्छ ।’
वि.सं.२०७९ फागुन १९ शुक्रवार १५:५४ मा प्रकाशित






























